म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले सोमबार एक समारोहमा म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
विश्वविद्यालयले क्युएए प्रमाणपत्र प्राप्तिका लागि तयार गरिएका १ सय २० ओटा सूचकहरुमा म्याग्दी बहुमुखी क्याम्पसले अधिकांश सूचक पुरा गरेसँगै विश्वविद्यालय अनुदान आयोगमार्फत प्रमाणपत्र पाएको क्याम्पसले जनाएको छ । आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष सोमनाथ ढुङ्गाना र क्याम्पस प्रमुख टिकाराम सापकोटासहित क्याम्पसको टिमलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सन् २०१२ मा क्युएएका लागि आशयपत्र प्रस्तुत गरेको म्याग्दी बहुमुखी क्याम्पसले पछिल्लो समयमा आवश्यक तयारीलाई तीव्रता दिएको थियो । गएको असोज १ देखि ५ गतेसम्म समकक्षी परीक्षण भ्रमणका लागि प्राध्यापक डाक्टर बासुदेव काफ्लेको नेतृत्वमा विज्ञ प्रा.डा. पंकजकुमार नटवारलाल गञ्जारा लगायतको ५ सदस्यीय टोलीले गुणस्तर परीक्षण गरेपछि अनुदान आयोगलाई प्रमाणपत्रका लागि सिफारिस गरेको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले अन्तर्राष्ट्रिय मान्यता क्युएए प्राप्त गर्नु धौलागिरी क्षेत्रकै गौरवको विषय भएको बताए । उनले क्युएए प्राप्तसँगै अब म्याग्दी बहुमुखी क्याम्पसले विभिन्न शीर्षक करिब पाँच करोड रुपैयाँ अनुदान पाउने बताउँदै म्याग्दी क्याम्पसमा अध्ययन गरेर उत्तीर्ण हुने विद्यार्थीहरुले अन्तर्राष्ट्रिय गुणस्तरको शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिएका छन् । क्याम्पसको आन्तरिक गुणस्तरमा समेत वृद्धि हुने भन्दै अध्यक्ष सुवेदीले क्याम्पसको अध्ययन, अनुसन्धान तथा भौतिक संरचनामा सहयोग आउने बताए । युजिसीबाट हाल आइरहेको १३ लाख रुपैयाँबाट बढेर ३० देखि ३५ लाखसम्म सहयोग आउने बताउँदै उनले आफ्नै पाठ्यक्रम निर्माण गरी स्वायत्त क्याम्पस बनाउन सकिने बताए ।
आयोगले तोकेको १ सय २० सूचकलाई १ सय अङ्कमा मापन गरिने भएकाले क्याम्पसले ५० अङ्क प्राप्त गरेमा ५ वर्षका लागि गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने भए पनि आयोगको हरेक अनुगमनमा क्याम्पसको नतिजा न्युनतमभन्दा धेरै थियो । क्युएए सम्बन्धन प्राप्त गरेका क्याम्पसमा दक्ष जनशक्ति हुने, क्याम्पसमा आर्थिक, भौतिक तथा सम्रग पक्षमा सक्षम हुने क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताएका छन् । आयोगले तोकेका ८ क्षेत्र र त्यस अन्तरगतका सूचकका आधारमा समीक्षासहित प्रतिवेदन, पुस्तकालयमा बारकोड रिडर, पुस्तक, फर्निचर खरिद, खेलकुद मैदान निर्माण, भवनको मर्मत, पाठयोजना तथा सभाहल निर्माण, आन्तरिक गुणस्तर समूहमार्फत समेत दर्जनौं कार्य निर्धारित समयमै सकिएको थियो ।
सम्मानपत्र हस्तान्तरण समारोहमा पूर्व महिला तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुङ्गाना, सदस्यहरू राजकुमार थापा, हेमराज शर्मा, सहायक क्याम्पस प्रमुखद्वय श्रीधर सुवेदी, पशुनाथनाथ ढकाल, क्युएए फोकलपर्सन गोरखनाथ जिसी लगायतको उपस्थिति रहेको थियो । २०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल १ हजार बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
म्याग्दी क्याम्पसले पायो ‘क्युएए’को प्रमाणपत्र
Previous Articleजनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्दैछ अष्ट्रेलिया
Next Article आठौं चरणको माघेसङ्क्रान्ति मेला सञ्चालन