बागलुङ, २२ कात्तिक – जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर आउने हरेक डिएसपीले पहिलो पटक पत्रकार सम्मेलन गरेर एउटा नारा दिने गरेका थिए ।
गुण्डा सफाइ अभियान, घरेलु मदिरा नियन्त्रण, यौन व्यवसाय नियन्त्रण, चुल्ठे मुन्द्रे पक्राउगर्ने लगायतका नारा दिने र चर्चा कमाउने धेरै छन् । धेरै प्रहरीले चर्का नारा दिएर केही समयका लागि नाम पनि कमाए । तर बिदाइ भएर जाँदा उनीहरुको नारा नारामै सिमित भयो । केही बर्ष अघि आएका उमाप्रसाद चर्तुवेदी बाहेकका सबै प्रहरी प्रमुखहरुको कार्यकाल शुरुमा लोकप्रिय र पछिल्लो समयमा निराशाजनक बन्दै गयो ।
अहिले एकबर्षअघि देखि कार्यरत जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंह ठकुरी भने सबै भन्दा फरक देखिएका छन् । जिल्ला प्रवेश पछि पहिलो पटक गरेको पत्रकार सम्मेलनमा उनले कुनै नारा दिएनन् । पत्रकारको जिज्ञाशामा पनि ‘मेरो नारा केही छैन, सके केही काम गरेर देखाउँला’ भनेर टारे । यो भनाइबाट समाचारको शिर्षकमा ल्याउन नपाएकोमा पत्रकारहरु पनि निराश बनेर फर्किए ।
एक बर्षे कार्यकालमा ठकुरीले बागलुङबासीको विस्तारै मन जित्दै गएका छन् । अहिले पनि मैले यस्तो गरे भनेर घमण्ड गरेका छैनन् । तर प्रहरी कार्यालयको समग्र सुधार तथा पूर्वाधार
समेत सम्पन्न बन्दै गएको छ । आएको तीन महिनामै आफै बढुवा भएर प्रहरी उपरिक्षक भएपनि उनले अन्य जिल्ला ताकेनन् । बरु डिएसपी भएर काम गरेकै स्थानमा बसेर कार्यालय भित्र व्यवस्थापकीय सुधार गरे । सर्वसाधारणहरु ठगिन्छन् भन्ने आरोप लाग्ने मुद्दा शाखालाइ पनि विवाद रहित बनाउने प्रयास गरेका छन् । अहिले उक्त शाखा पुग्नेले पहिलाको भन्दा धेरै फरक महसुस गर्न थालेका छन् । अन्यले नारा दिएर गर्न नसकेका काम उनको बुद्धिमत्ताले साम्य भएका छन् ।
बाहिरी आवरणमा पनि जिल्ला प्रहरी कार्यालयमा धेरै परिवर्तनहरु एक बर्षमै भएका छन् । उनकै कार्यकालमा महिला सेललाइ छुट्टै बसेर काम गर्न सकिने गरी कार्यालय बनेको छ । स्थानीय बासिन्दा र व्यवसायीको सहयोगमा २ कोठे महिला सेल निर्माण भएको छ । महिला प्रहरीलाइ काम गर्न पनि सहज भएको सेलकी प्रमुख अनु राईले बताइन् । कार्यालय परिसरमा आर्कषक गेट निर्माण भैरहेको छ । झगडियाहरु पुग्दा चउर र कार्यालय अगाडि छरीएर बस्नुपर्ने बाध्यता हटेर ४० जना सम्म बस्न सकिने गोलघर निर्माण भएको छ । उक्त गोलघर ढलान गरिएको, बस्ने सिटमा पिफर्म सहित कार्पेट जडान गरिएको छ ।
यतिधेरै काम ठकुरीले सरकारी बजेट ल्याएर भने गरेका होइनन् । स्थानीयलेनै सहयोग गरेका छन् । बरु उनले हरेक सहयोगलाइ पारदर्शी समेत बनाएर राखेका छन् । ‘कसले के कति सहयोग गरेको छ भन्ने पारदर्शीता बनाएको छु’ उनले भने, ‘प्रहरी प्रमुखलाइ पैसा दिएर आफ्नो पक्षमा पार्नेहरु धेरै हुने रहेछन्, तर मैले त्यसतर्फ कुनै चासो दिइन, फलस्वरुप पूर्वाधार निर्माण र व्यवस्थापकीय सुधारमा अगाडि बढ्ने अवसर पाएँ ।’ सबैको सम्मान हुने, सहयोगीले गर्व गर्न सक्ने कार्यालय बनाउने धोको रहेको उनले बताए ।
प्रहरी जवान देखि उपल्लो तहसम्मका व्यक्तिमा बोल्ने शैलीमा सुधार ल्याउन पनि उनी सफल भएको अधिकारकर्मी गीता श्रीष बताउँछिन् । ‘म ठूलो हुँ भन्ने घमण्ड नभएको प्रहरी प्रमुख भेटियो’ श्रीषले भनिन्, ‘यस्ता कर्मचारीहरु बढ्दै गए भने देशले मुहार फेर्न समय लाग्दैन ।’ कुनैपनि घटनालाइ गहन रुपमा अध्ययन गर्ने, सबैलाइ सम्मानजनक व्यवहार गर्ने भएकोले यस अघि प्रहरीसँग रिस पोख्नेहरुपनि विस्तारै कम भैरहेको व्यवसायीहरुको भनाइ छ । कार्यकालमा भएका केही ठूला घटनालाइ पनि सहज रुपमा उनले समाधान गर्न सफल भएका छन् । ‘प्रमुखले चाहना राख्यो भने समस्या समाधान गर्न सक्ने रहेछ भन्ने यो उदाहरण हो’ एक प्रहरी अधिकृतले भने, ‘प्रमुख जस्तो भयो, सबैको बानी त्यस्तै हुने हो ।’ जिल्लामा बसुन्जेल राम्रो काम गरेर सबैले सम्झन योग्य बन्ने चाहना उनको छ ।