चिनीया राष्ट्रपति सी जिनपीङको दुई दिने नेपाल भ्रमणका समयमा धेरै उपलब्धी हासिल हुने कल्पना गरीएको थियो र त्यो अनुसारको उपलब्धी हासिल भएको हामीले मान्न सक्छौं । हुन पनि उनको उपश्थिति निकै लामो समय पछि भएको हो । चीनका राष्ट्रपतिले नेपालको राजकीय भ्रमण गरेको यो २३ वर्ष पछिको पहिलो हो । विश्व महाशक्ति चीनका प्रमुखको नेपाल भ्रमणलाई निकै महत्वपूर्ण तबरले हेरीनु स्वभाविक नै हो । हुन त नेपालका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको पनि विदेश भ्रमण हुने गरेको छ । तर नेपाल राज्यको आर्थिक अवस्था र देशको भौगोलिक बनावट र विश्व राजनीतिमा नेपालको पहुँचका कारणले गर्दा खासै महत्व नपाउन सक्ला तर चीनका राष्ट्रपतिको भ्रमणले विश्वको ध्यान नेपाल केन्द्रीत गराएको भने पक्कै पनि हो ।
चीनका राष्ट्रपतिको भ्रमणको समयमा नेपाल र चीन बीचमा २० वुदे सहमती भएको छ । सीमा व्यवस्थापन प्रणाली बारे नेपाल र चीन सरकार बीचको सम्झौता भएको छ । त्यस्तै शासन क्षमता अभिबृद्धि समनवय तथा आदानप्रदान गर्ने समेत सहमती भएको छ । त्यस्तै अपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे पनि सन्धी भएको छ । सगरमाथा संरक्षणका लागि एमओयू भएको छ । रेल्वे परियोजना, बनस्पती निर्यात गर्न सक्ने जस्ता धेरै विषयमा सहमती भएको छ । यस सहमतीले अबको दिनमा नेपालका लागि धेरै राम्रो हुने पक्का छ । त्यसको फाइदा चीनले पनि लिने पनि पक्का पक्कि हो । ब्यापारमा संयुक्त कार्य समूहको स्थापना गर्ने जुन सहमती भएको छ त्यसले नेपालको मात्र नभएर दक्षिण एसियाकै ब्यापारमा निकै राम्रो प्रभाव पार्ने देखिन्छ ।
सन्धि र सम्झौताहरु धेरै गर्ने तर कार्यान्वयनमा नआउने नेपालको पहिला देखिको समस्या हो भनेर लाग्ने गरेको आरोपलाई अबका दिनमा चिर्नु पर्ने प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको चुनौती पनि हो । चुनौती जहाँ हुन्छ त्यहाँ अवसर पनि पक्का हुन्छ । त्यसैले चीन सँग गरेका सम्झौता सबैलाई कार्यान्वयनमा ल्याउने चुनौतीलाई सामना गर्दै विकासको मार्गमा अगाडी जाने अवसरलाई पनि हामीले हेर्नै पर्छ । जब सम्म नेपालले आफू भित्रको चुनौतिलाई पन्छाउँदै अगाडी बढ्दैन तब सम्म कुनै पनि हालतमा बिकास हुदैन । त्यसैले पहिला आफू भित्रको खराब पक्षलाई निस्तेज गर्दै विग्रेको संरचना सुधार गर्दै अहिलेकै गतिमा बिकासको मार्गमा जानु नै आजको मुख्य आवश्यकता हो ।