सबै दिनको एक न एक महत्व पक्कै पनि हुन्छ । आज पनि त्यस्तै महत्वपूर्ण दिन मध्ये हाम्रा अग्रज अर्थात् जेष्ठ नागरिक दिवस । विश्व समूदायले आजको दिन अर्थात् अक्टोबर १ लाई विश्व जेष्ठ नागरिक दिवसको रुपमा मनाउँदै आएको छ । विविध कार्यक्रम गरेर विश्वभर जेष्ठ नागरिक र उनीहरुको योगदानको चर्चा गर्ने गरिन्छ । वर्षमा एक दिन जेष्ठ नागरिकको बारेमाा चर्चा गर्नेहरुले वर्षका अन्य ३६४ दिन भने उनीहरुका दिमागमा के चल्छ होला त्यो थाहा पाउन सकिएको छ छैन उनीहरुलाई नै थाहा होला । हामीले देख्दै आएको बुढाबुढी भइसकेका आमाबुवाको छोराछोरी प्रतिको चाहना अनि अपेक्षा सामान्यत साँझमा कामवाट थाकेर घर फर्कदै गर्दा हातमा बोकेको प्लाष्टिकको पातलो झोला भित्र घरमा पर्खिरहेका छोराछोरी का लागि सानै सही तर केही कुरा भनें लगिदिएका हुन्छन् । तर त्यस्तै बाबु आमाका लागि हामीले वर्षमा एक दिन मात्र छुट्याएका छौं ।
यदी यो संसारमा सबैभन्दा खुशी आमा बुवा छन् भने उनीहरुले आफ्ना सन्तानको प्रगति अनि खुशी देखेरै हुन्छन् । रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाँउदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षादिक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे भनें पनि हामी तिनीहरुकै सपनाको एउटा पुञ्ज हौं । समयक्रम संगै बुवाको पाखुराको बल कम हुन्छ, आमाको शरीर कमजोर हुँदै जान्छ अनि जीवनको चक्र, बुढेसकाल शुरु हुन्छ । त्यस पछि तिनै महत्वपूर्ण बाबुआमाहरु हेलित हुन जान्छन् । ज्येष्ठ नागरीक अर्थात पाका उमेरका बृद्धबृद्धाहरु, प्राय देशहरुमा ६० बर्ष पुरा भएका नागरीकलाई राज्यले ज्येष्ठ नागरीकको श्रेणीमा राखेको छ ।
हामीले आदर्श छाँट्ने र अनेकर प्रकारका भाषणहरु गर्ने गरे पनि जब उमेर ढल्कँदै गएपछि अरुहरु प्रति हुने निर्भरता, जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्कोफर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउने अनि हेला गर्ने चलन पनि देखिएको छ । स्मरण रहोस, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै अब आउने पुस्ताले हामीलाई दिने माया र सदभाव निर्धारण गर्दछ । त्यसैले आजको दिनमा हामीले जेष्ठ नागरिक दिवस मनाउँदै गर्दा हामी भोली जेष्ठ नागरिक हुन्छौं त्यो समयका लागि हाम्रो पहल के होला कल्पना गरेर अहिले नै व्यवहारमा सुधार ल्याउने कि ? जब सम्म हामी सुधार हुँदैनौं तब सम्म हाम्रो पनि अवस्था के होला भन्ने कल्पना पनि हामीले नै गर्ने हो ।