प्रताप बानियाँ
म्याग्दी – म्याग्दीका महिला दिदीबहिनीहरुले तीज गीतबाटै महिला हिंसाको विरुद्धमा बोलेका छन् । तीजको गीतबाट महिला हिंसाविरुद्धको आवाज उठाउँदै उनीहरुले देशमा बढ्दै गैरहेको हत्या, हिंसा, बलात्कार, सामाजिक सञ्जालको बिकृति, दुरुपयोग, महिलामाथि हुने अन्याय, अत्याचार, दाइँजो, घरेलु तथा लैङ्गिक हिंसाको विरुद्ध मुख खोलेका हुन् ।
हरितालिका तीज पर्वको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित खुल्ला तीजगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका विभिन्न आमा समूहहरुले यस्तो गीत गाएका छन् । उनीहरुले महिला, बालबालिकामाथि हुने गरेको हिंसा र विभेदको विरोध गर्दै सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । धौलागिरी नाट्य समूह म्याग्दीको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सञ्चालन गरिएको हो ।
पछिल्लो समय देशैभर बढ्दै गैरहेको बालिका बलात्कार, हत्या, हिंसा, लुटपाट र अपराधका घटनाले खासगरी महिला तथा बालिकाहरुले भोग्नुपरेको यथार्थलाई समेटेर यसको विरुद्ध महिलाहरुले तीज गीतबाट पनि मुख खोलेका छन् । उनीहरुले प्रायः देशका विभिन्न स्थानहरुमा भैरहेका महिला तथा बालिका हिंसाविरुद्ध पीडकलाई कडा कारवाहीको व्यवस्था हुनपर्ने माग गरे । महिलाहरुलाई महिनावारी भएको समयमा बजारको सेनेटेरी प्याड नलगाउन आग्रह गर्दै कन्चनपुरकी निर्मला पन्तको बलात्कारी अझै नभेटिएको र ३३ किलो सुन छिराउँदा प्रहरीले के हेरेको ? भनी गीतबाटै प्रश्न गरेका छन् । महिलाहरुले उत्कृष्ट शब्द चयनसँगै निकै भावुक र मार्मिक गीत गाएका थिए । प्रतियोगी रुपमा गाइएका उत्कृष्ट सन्देशमूलक तीजगीतका केही हरपहरु यस्ता छन् ।
प्रतियोगी गीतको पाँचौं नम्बरमा पालो परेको मंगला गाउँपालिका–५, अर्मनको नवज्योती आमा समूहमा आबद्ध महिलाहरुले स्टेचमा पुगेपछि तीज भाकामा महिलाका दुःख, पीर र वेदनाको पोको यसरी खोलेः
पैदलयात्रा गर्ने ठाउँमा मोटरगाडी पुगेछ
अझै पनि महिला हिंसा किन लुकेछ
महिनावारी भाको बेला बजारको प्याड नलगाऊ
सफा, नरम सुती कपडा घरमै बनाऔं
निर्मला पन्तको नि बलात्कार भएको
बलात्कारी अपराधी कहाँ छ गएको
३३ किलो सुन छिराउँदा प्रहरी के हेरेको
दुई बट्टा अचार भेट्दा थियौ नि घेरेको
रविलाई मन नपार्नेले छन् नी खोइरो खनेको
पुडासैनी भिडियो भाइरल छ बनेको
बलात्कृत हुने महिला बस्छिन् घरमै रोइरोई
तीनलाई सजाय दिने कानुन बन्छ कहिले खोई
गाउँ, शहरमा बाध्य छन् महिला चिढिन्
नसोच्नु है महिलालाई मात्रै बच्चा पाउने मेसिन
देश विकास गर्नलाई अघिअघि सर्ने हो
भृकुटी र पासाङ झैं भई हामी मर्ने हो
उनीहरुले पछिल्लो समय सामाजिक सञ्जालका कारण देशमा भैरहेको बिकृतिका विरुद्धमा समेत गीत गाए ।
फेसबुक, भाईबर, ईमोले धेरैको घर बिगा¥यो
सही सदुपयोग नहुनाले अर्कैको घर सिँगा¥यो
श्रीमान्ले प्रदेशमा रगतको भल बगाउनी
श्रीमतीचाहीँ नेपालमा अर्कैसँग रमाउनी
गीत गाए नि, नाच्दा पनि गर्छन् फेसबुकमा लाइभ
विदेशबाट श्रीमान् नेपाल आउँदा श्रीमती गायब
यसैगरी प्रतियोगितामा सहभागी मनिबाराही आमा समूह रघुगंगा–१, बेगखोलाका प्रतिनिधिले महिलाहरुले गर्नुपरेको घरधन्दा, नारी मुक्ति, अधिकार तथा बेदनाका विषयवस्तु समेटेर माथि उठ्नुपर्छ भन्दै यस्तो गीत गाएका थिए ।
मनको बेदना बोल्ने मन थियो तीजको गीतमा
दुखेको हृदय खोल्ने मन थियो नारीको हितमा
चुलो र चौको घरधन्दाबाट माथि है उठेर
मिली हामी अगाडि बढौं है सबै जुटेर
राम्रो सोचौं जुक्तिका लागि तीजको गीतमा
अगाडि बढौं मुक्तिका लागि नारीको हितमा
दुई पाङ्ग्रा हामी नारी र पुरुष एउटै रथका
लक्ष्यमा पुग्न अगाडि बढौं भएर एकता
खोज्दछौं न्याय वेदना बोल्छौं तीजको गीतैमा
भेदभाव हटाई चेतना खोल्छौं नारीको हितमा
साथ है देऊ, हात नै देऊ पीडित महिलालाई
अगाडि बढ्न रोक्नुहुन्न यी हाम्रा पाईलालाई
सानो छ आवाज बदल्छौं शक्तिले तीजको गीतैमा
ठूलै छ एकता बदल्छौं भक्तिले नारीको हितैमा
त्यस्तै अर्को समूह मंगला–२, सल्यानका महारानी आमा समूहका महिलाहरुले जति कानुन बनेपनि महिलाहरुमाथि शोषण, दमन भैरहेको, महिलाहरुलाई मारिएको, शहिदको रगतले होली खेलेको, भाषण धेरै गरेपनि जनताले परिवर्तनको महशुस गर्न नसकेको र महिला पुरुषलाई बराबर गर्नुपर्ने मागसहित यसरी गीत गाएका थिए ।
जति भाषण गरेपनि भएन विकास
अत्याचार हिंसालाई गरौं निकास
कति नारी मारिए, कति नारी बेचिए
सोझो, निर्दोष व्यक्तिहरु जेलमा कोचिए
नेपालमा जस्तो कानुन आए पनि भएन
बलात्कारी हत्याराको अन्त्य भएन
नेता भई देश चलाउँछु भनी शासन चलाउँछन्
शहिदको रगतले होली मनाउँछन् ।
सरकारले जति भाषण दिएपनि भएन
जनताका दुःखी दिन कहिल्यै गएन
जति कानुन बनेपनि कागजमै हो सीमित
महिला पुरुष बराबर गरिदेउ नियमित
त्यसैगरी बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी आमा समूहले नारीको पीडा, दाइँजोको निहुँमा महिलाको हत्या, निर्मलाले अझै न्याय नपाएको, महिला हिंसा रोक्न कानुन हराएको, अपराध लुकेको, समानता भन्दापनि समताको खाँचो परेको, पुरुषले घरभित्रको माहौल बुझ्न नसकेको र महिला हिंसा अन्त्य गर्नका लागि अभियान थाल्नुपर्ने जस्ता विषयवस्तुलाई समेटेर यस्तो गीत गाएका थिए ।
चारजात छत्तीस वर्ण होरे फुलबारीको
अब पीडा फुकाउँदैछौं हामी नारीको
तराईमा चेली मर्छन्, विषय हो दाइँजोकै
निर्मलाले न्याय पाउने कहिले होला खोई
महिलाकै काम हो भन्छौ चुलोचौको
हत्या धेरै बढिराछ समाज अझै अबुज भो
(महिला हिंसा रोक्ने कानुन खोई त कता गो)
लाखौं अपराध लुकेको छ न्यायको नै अभावले
जागौं नारी सरकार झुकोस हाम्रो दवावले
केही वर्षमै नारीहरु उद्योगपति बन्नुछ
हामी पनि गर्न सक्छौं सबलाई भन्नुछ
समानता होइन हाम्लाई समताको खाँचो छ
अवसर दिए चुनौतीलाई तोड्ने साँचो छ
महिलाकै काम हो भन्छौं चुलोचौको मझेरी
पुरुषले यस्तो माहौल बुझ्छौ कसरी
कानुनसँगै हिँडेपछि हुन्छ सबै समाधान
महिला हिंसा अन्त्य गर्ने हाम्रो अभियान
आमा समूहस्तरीय खुल्ला तीजगीत प्रतियोगितामा जिल्लाका कुल १६ समूहले सहभागिता जनाएका थिए । अधिकांश समूहले अहिले देशमा बढ्दै गएको महिला हिंसा, सामाजिक सञ्जालको बिकृति, समान अधिकार, कानुनका कुरा र न्याय नपाएको विषयलाई जोडेर गीत गाएको निर्णायक मण्डलका संयोजक एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष कृष्ण जिसीले बताउनुभयो । आमा समूहका महिलाहरुले महिला हिंसा, नारीका वेदना, वर्तमान अवस्थालाई समेटेर उत्कृष्ट शब्द चयनसितका गीत गाएकाले निर्णय दिन समेत निकै हम्मेहम्मे परेको उहाँले अनुभव सुनाउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आमा समूहका दिदीबहिनीहरुले तीजगीतबाट वास्तविक अवस्था बाहिर ल्याएको भन्दै समाजमा अझै पनि हिंसा र विभेद कायम रहेकाले सबै मिलेर यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला सशक्तिकरण र समसामयिक विषयवस्तुमा आधारित रहेर गीत गाइएको प्रतियोगिताबाट नवज्योती आमा समूह प्रथम, मनिबाराही आमा समूह द्वितीय, महारानी आमा समूह तृतीय र चिप्लेटी आमा समूह सान्त्वना भएका छन् । उनीहरुलाई आयोजकले क्रमशः नगद १२ हजार, आठहजार, पाँचहजार र तीनहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरेको थियो ।