विभिन्न कार्यक्रमहरुको आयोजना गरेर बिहीबार म्याग्दीमा नेपाल रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा मृर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण तथा म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री र कपडा सहयोग गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी पुलाचौर उपशाखाले मृर्गौलापीडितद्वय निशा सुवेदी र डेकनाथ शर्मालाई आर्थिक सहयोग गर्नुका साथै उपशाखा कार्यालय परिसरमा सरसफाई गरेर दिवस मनाएको छ । उपशाखाको पहलमा पुलाचौरकी मृर्गौलापीडित सुवेदीलाई नगद ४३ हजार आठसय १५ र भीरमुनीका शर्मालाई नगद ४३ हजार सातसय ६५ रुपैयाँ सहयोग रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
उक्त रकम पौलस्त्य तथा जनकल्याण माविका शिक्षक, विद्यार्थी, युवा रेडक्रस सर्कल, पुलाचौर आमा समूह, रेडक्रस पुलाचौर उपशाखाका पदाधिकारी र विभिन्न व्यक्तिहरुमार्फत सङ्कलन गरिएको थियो । सङ्कलित रकम रेडक्रस पुलाचौर उपशाखाका संस्थापक सभापति तथा जिल्ला शाखाका उपसभापति अमर बानियाँमार्फत बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण गर्दै उनले रेडक्रस संस्था सामाजिक भएकाले आपत्विपद्मा परेका व्यक्तिहरुलाई सहयोग गर्ने गटरेको बताएका छन् ।
बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले सामाजिक भावनाले ओतप्रोत भएका रेडक्रसकर्मीहरुबाट राजनीतिक दलहरुले पाठ सिक्नुपर्ने बताएका थिए । कार्यक्रममा रेडक्रस म्याग्दीका यशस्कर सदस्य यामबहादुर बानियाँ, बेनपा–५, पुलाचौरका वडा सदस्य रामप्रसाद सुवेदी र पौलस्त्य मावि भीरमुनीका अध्यक्ष गोविन्द बानियाँले मन्तव्य राखेका थिए ।
रेडक्रस पुलाचौर उपशाखाका कार्यवाहक सभापति शिव बानियाँको अध्यक्षता र सहसचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य एवं कार्यक्रम संयोजक बलराम सुवेदीले स्वागत गरेका थिए ।
Previous Articleमध्यम वर्षाको सम्भावना
Next Article अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते