कुनै पनि धार्मिक महत्व आफैमा निकै ठूलो अनि उत्कृष्ट हुन्छन् । तर, आफ्नो मात्र धर्म संस्कृति उत्कृष्ट अरुको निकृष्ट भन्ने पक्कै पनि हुँदैन । सबै धर्म संस्कृतिको आ–आफ्नै पहिचानका चाडपर्वहरु हुने गर्दछन् र त्यसको महत्व पनि फरक हुने गर्दछ । क्रिश्चियनहरुले क्रिशमस तथा मिड सण्डे मनाउाछन् भने मुस्लिमहरुले रमजान मनाउने गर्दछन् । नेपाली समाजमा पनि उधौली, उभौली, ल्होसार लगायतका पर्वहरुको महत्व धेरै नै छ । यही र यस्तै चाडपर्व हरुमध्ये हिन्दू नारीहरुका लागि हरितालिका तीज तथा ऋषिपञ्चमी जस्ता चाडहरुको महत्व छुट्टै रहेको छ । यस्तै महत्वपूर्ण र अर्थपूर्ण रहेको चाड हरितालिका तीजको आज ब्रत बस्ने दिन हो । हिँजो पेटभरी खाएर रमाइलो गरेका हिन्दु नारीहरु आजको दिनमा भने निरहार ब्रत बस्ने प्रचलन रहेको छ ।
विगतमा चल्दै आएको चलनलाई केही आधुनिकताले छोयो भन्दै गर्दा पुरै परिवर्तन भएको हो की भन्ने सम्मको अवस्था देखिएको छ । बजारमा चलेका गीतहरुको अवस्था हेर्दा पनि हाम्रो संस्कृतिलाई विदेशी संस्कार अनि अधुनिक गीत संगीतले हडपेर लगेका त होइनन् ? भन्ने सम्मको अवस्था देखिएको छ । गत वर्षको तीजको गीतमा पनि रकमा तीज भन्ने गीत बजार आयो भने अहिले पनि म्वाई खाँदै अष्ट्ेलिया गएको प्रसंगका गीतहरु बजारमा आएका छन् । हुन् त गीत संगीतमा नेपाली समाजको यथार्थ चित्रहरु पनि प्रस्तुत हुँदै आएका छन् पछिल्लो समयमा । तर पनि यथार्थ चरित्र प्रस्तुत गर्ने क्रममा संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्दै अगाडि बढ्नका लागि समेत प्रयास गर्नु अपरिहार्य पक्कै हो ।
तीजको शब्द कसरी आयो भन्ने विषयमा धेरै छलफल र बहस भए पनि कसैसँग यसको एकिन जानकारी भने छैन । तर पनि वर्षात्को समापन नजिकै आउने यो चाडलाई वर्षात्लाई विदाई गर्ने चाड पनि भनिन्छ । वर्षामा धान रोपेपछि निस्कने एक प्रकारको किरालाई पनि तीज भन्ने गरिन्छ । तर पनि यस चाडलाई महादेव र पार्वतीको आस्था र आरधानासँगै जोडिएको छ । १०८ वर्षको तपस्यापछि पार्वतीले महादेव पति पाएकोले तीजको ब्रतपछि १०८ सुते बत्ती बाल्ने भन्ने समेत प्रचलन रहिआएको छ । प्रचलित मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्दै गरिएको भए पनि यस समयमा ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्यले थेग्ने प्रकारले मात्र ब्रत बसौं । आफ्नो स्वास्थ्यले सम्हाल्नै नसक्ने गरी निरहार ब्रत बस्नुको कुनै अर्थ र औचित्य हुँदैन । त्यसैले ब्रत र स्वास्थ्यको राम्रोसँग ख्याल गरी ब्रत बस्दा राम्रो होला । तीजको सबैमा हार्दिक शुभकामना !
Previous Articleविपन्नको उपचारमा सराह्रनीय कार्य: थापा
Next Article छात्रा फुटबलको उपाधि माउण्ट एभरेष्टलाई