प्रताप बानियाँ
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्मा काठपातको काममा निकै सिपालु छन् । १०÷१२ वर्षको सानै उमेरदेखि उनले काठपातका विभिन्न सामानहरु बनाउनतर्फ ध्यान लगाएका थिए । उनले आफ्नो बाबुबाट काठका सामान बनाउने सिप सिकेका हुन् ।
खासगरी काठबाट ठेका बनाउन उनी निक्कै खप्पिस छन् । आफूहरुको पुख्र्यौली पेशा नै ठेका कुँद्ने भएको उनले बताए । ठेका कुद्ने कामलाई गाउँघरमा (चुँधारा) पेशा भन्ने गरिन्छ । आफूहरुको पाँच पुस्तादेखि ठेका बनाउँदै आएको पेशा भएकाले अहिले पनि आफूले ठेका कुँद्ने कामलाई निरन्तरता दिएको उनी बताउँछन् । आफू सानै हुँदा बाबुले गरेको सिप देखेर उनले सिकेका थिए ।
सानै उमेरदेखि काठपातको सहयोगमा विभिन्न सामानहरु बनाउनेतर्फ आकर्षित भएका विश्वकर्माले आफ्नो बाबुको मृत्यु भएपछि २२ वर्षको उमेरदेखि भने ठेका कुँद्न थालेको बताए । उनले ठेका कुँद्न थालेको अहिले ४३ वर्ष पुगिसक्यो । यो अवधिमा उनले ५ मुठी जाने ठेकीदेखि ४० माना अर्थात् पाँच पाथी अटाउने ठेकासम्म कुँदेका छन् । ठेका बनाउनेसँगै उनले मदानी, तर, धुपौरो, चम्ठो (तेल राख्ने), पुछै (रक्सी खाने), केरमपुर (रक्सी राख्ने) भाँडो, खुर्पेटो (हँसिया अड्याउने) जस्ता विभिन्न सामानहरु बनाउने गरेका छन् ।
केरमपुर (रक्सी राख्ने) भाँडो यो मगर र थकाली समुदायमा रक्सी लाउँदा अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । गाउँघरमा काठ र दारपातबाट बन्ने ठेकाको औधी प्रयोग हुने गरेको छ । विश्वकर्माले दारगिठो, गुराँस, भलाय र काप्राको काठबाट ठेका बन्ने गरेको जानकारी दिए । उनले अधिकांश ठेका दारगिठोको राम्रो हुनेहुँदा आफूले धेरै ठेकाठेकी दारगिठोको नै बनाएको बताए । अलिअलि गुराँसको पनि ठेका कुँदेको बताउँदै उनले दारगिठोको काठबाट बनाएको ठेकामा राखेको दुध, दही स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुने बताए । काठको सहायताबाट बनाइएको ठेकामा दुध, दही, मही र घ्यु राख्ने गरिन्छ ।
विश्वकर्माले ठेकाको साथसाथै चमच्चा (रोटेपिङ)को सामान, मन्दिरमा राखिने गजुर, चौतारी–पोखरीमा गाडिने मौलोसहित कुर्सी, टेबुल, खाट, दराज, आराम–बेन्चलगायत फर्निचरसँग सम्बन्धित सबै सामानहरु बनाउँदै आएका छन् । परम्परागत सिप र प्रविधिमा आधारित रहेर उनले बनाएका सामानहरु म्याग्दी जिल्लासहित नेपालको अधिकांश ठाउँमा पुगेको बताए । यसैगरी विदेशको अस्टेलिया, जापान र अमेरिकामा समेत पुगेका छन् । म्याग्दीको भकिम्ली, ज्यामरुककोट, सिङ्गा, बाबियाचौर, कुहुँ, घतान, राखुपिप्ले, भगवती, पुलाचौर र पात्लेखेत पुगेर ठेका कुँदेको उनले बताएका छन् ।
उनले कुँदेको ठेकाको हाल बजार मुल्य प्रति माना सातसय रुपैयाँ पर्ने गरेको छ । त्यस्तै केरमपुरको भने दुईहजार पाँचसय रुपैयाँ मुल्य रहेको उनले जानकारी दिए । गाउँको विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका विश्वकर्माले ठेका कुँदेवापत दैनिक रुपमा दुईहजार पाँचसय रुपैयाँसम्म ज्याला लिने गरेका छन् । परम्परागत सिप र प्रविधिलाई संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।
Previous Articleश्रेष्ठलाई जर्ज जोन शिक्षा प्रतिष्ठानको सम्मान
Next Article २०७६ साउन २८ गतेको राशीफल