म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन् । सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप दुर्घटना हुँदा बेनपा–३, भकिम्लीका ५५ वर्षीय रत्नबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यसैगरी घाइते हुनेहरुमा बेनपा–३, भकिम्लीका २० वर्षीय ईन्द्रबहादुर विक, बेनपा–३, मुसुङडोलेका जीप चालक ३४ वर्षीय यामबहादुर श्रीष, बेनपा–३, भकिम्लीका ४० वर्षीया ज्ञानकुमारी श्रीष, सोही ठाउँकी ४० वर्षीया रुपा घर्ती, ७१ वर्षीय डम्बरबहादुर छन्त्याल र ५० वर्षीय आइतराम विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै बेनपा–३, भकिम्लीकै २२ वर्षीय बिक्रम सुनार, ३८ वर्षीया भुमीदेवी खाती, २५ वर्षीय विशाल शाक्य, २३ वर्षीया शान्ता शाक्य, उनको साढे २ वर्षको बच्चा साईरा शाक्य, मंगला गाउँपालिकाको बराङ्जाकी ७० वर्षीया बुद्धिकला सुनार र बागलुङ गुठीका २१ वर्षीया मन्जु खत्री घाइते भएको सूचना अधिकारी शर्माले बताए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकामध्ये ५ जनालाई बेनी अस्पतालले पोखरा रिफर गरेपनि अरु घाइतेहरु समेत स्वयं आफै उपचारका लागि पोखरा जान्छौं भनेर गएको अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले जानकारी दिए । उनका अनुसार घाइतेहरुको टाउँको, आँखा, छाती, पेट, हातखुट्टा र शरिरको अन्य भागमा चोटपटक लागेको छ । जीप सडकबाट ३३ मिटर तल खसेको प्र्रहरीको भनाइ छ । वर्षात्को समय र उकालोमा ओभरलोड हुँदा ब्रेकफेल भएर दुर्घटना हुन गएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।
Previous Articleश्रोत साधन अनुसारको जनशक्ति उत्पादन गर्नुपर्छ
Next Article रुप्से दैनिक ! २१ श्रावण २०७६