गलेश्वर शिवालय मन्दिरमा सोमबार देशका विभिन्न जिल्लाबाट पुगेका भक्तजनहरुले पुजाअर्चना गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा भक्तजनहरुले पुजाआजा गरेका हुन् । यसवर्ष साउन महिनाको पहिलो सोमबारका दिन म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब २० हजार बढी दर्शनार्थी भक्तजनहरुले शिवालयमा पुजाआजा गरेको बताइएको छ ।
गलेश्वर शिवालय मन्दिरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएर पूजाअर्चना गर्नुका साथै दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यस वर्षको पहिलो दिन विगतका वर्षको तुलनामा साउन महिनाको पहिलो सोमबारभन्दा भक्तजनहरुको सङ्ख्या केही घट्न गएको क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताए । उनका अनुसार गाउँघरमा खेत रोपाइँ नसकिनु, ४ ओटा सोमबार मात्रै पर्नु, वर्षात्को समय र यातायातको असुविधाका कारणले गर्दा भक्तजनहरु कम आएका हुन् ।
गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर शिवालय क्षेत्र विकास कोषले सहज पुजाआजाको व्यवस्थापन मिलाएको थियो । मन्दिर पुगेका भक्तजनहरुले अबिर, धजा, नरिबलसहित फुलप्रसाद चढाएर धुपबत्ती बाली पुजा गरेका थिए । पुजा व्यवस्थापनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक सेवा केन्द्र, स्थानीय क्लब तथा आमा समूह, न्यु वेष्ट प्वोइन्ट कलेजसहित विभिन्न सामाजिक संघसंस्थाले स्वयंसेवा गरेको कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।
पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । मन्दिरमा सङ्कलित भेट्टी पूर्वाधार विस्तार, जेष्ठनागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गरिन्छ । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा मानिन्छ । साउन महिना पवित्र महिना भएकाले शिवालयमा पुजाआजा गर्दा शान्ति मिल्ने विष्णु रोकाको भनाइ छ ।
हरेक महिनाको आ–आफ्नै महत्व रहेकाले साउन महिना भगवान शिवको अत्यन्तै प्रिय महिना भएकाले यस महिनामा र सोमबारको दिन शिवालयमा पुगेर जल चढाउनाले फल प्राप्त हुने गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुली बताउँछन् । सोमबारका दिन शिवालयमा गएर पुजाआजा गरेमा सन्तान नभएकालाई सन्तान मिल्ने, धनमाल नभएकालाई धन जोडिने र अल्पायुलाई दिर्घायु हुने शास्त्रीय मान्यता रहेको उनले बताए ।
खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पुजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिलाहरु आफ्नो श्रीमान्को दिर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् । भगवान् शिवजीलाई मनपर्ने साउन महिना र सोमबारका दिन हातमा मेहेन्दी र हरियो चुरा लगाई हरियै पहिरनमा सजिएर महिलाहरू शिवालय जाने गर्छन् ।
Previous Article३७औं विपी स्मृति दिवस मनाइयो
Next Article ४१औं पुष्पलाल स्मृति दिवस मनाइयो