गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकको गुईठेभीरमा सोमबार बिहान खसेको पहिरोले सडक अवरुद्ध भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित गुईंठे भीरमा सडक माथिबाट कडा चट्टानसहित पहिरो खसेर सडक थुनिँदा यात्रुलाई सास्ती भएको हो ।
कालीगण्डकी नदीको कटान र पहिरोले ठाउँठाउँमा अवरुद्ध भएपछि धरापमा रहेको सडक दैनिकजसो अवरुद्ध हुँदा यात्रुले जोखिम मोलेर पैदलमार्ग तथा सवारीसाधन परिवर्तन गरी गन्तव्यमा पुग्ने गरेका छन् । मनसुन सुरु भएयता जोखिम मोलेर मेसिन र मजदुरले सडकमा खसेको पहिरो पन्छाउने गरे पनि सडक स्तरोन्नतिको क्रममा चर्किएको कडा चट्टान नै खस्न थालेपछि मर्मतमा विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
गुईंठेभीरको अवरोध हटाउन नेपाली सेनाको टोलीले विष्फोटक पदार्थ समेत तयारी अवस्थामा राखेको दानाका पर्यटन व्यवसायी ईन्द्रसिङ शेरचनले जानकारी दिए । भारतको विभिन्न जिल्लाबाट मुक्तिनाथ मन्दिरको दर्शनका लागि निस्किएका भारतीय पर्यटकको समूह पहिरोका कारण अलपत्र परेको छ । भारतीय हिन्दुधर्मावलम्बीहरु पहाडमा पैदलयात्रालाई जोखिम मान्ने भएकाले पनि स्थानीयले उद्दारमा सहयोग गर्ने गरेका छन् ।
लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भू–बनावट, कालीगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथिबाट ढुङ्गा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ । विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षति पुगेपछि स्थानीयवासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारी वर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किनुका साथै जमिन तथा सडक भासिएको छ ।
रघुगंगा गाउँपालिकाको बैंसरीदेखि सडक स्तरोन्नतिको काम भैरहेकाले डोजर, स्काभेटर, ब्रेकेरको प्रयोगले धेरै ठाउँमा चर्किएको पहाडबाट लगातार ढुङ्गा खस्ने गरेका छन् । सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ । अवरुद्ध सडक खुलाउन आवश्यक पहल भैरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।
Previous Articleएनएमबि बैंकद्वारा नयाँ कर्पोरेट अभियान आरम्भ
Next Article विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ