अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको अगुवाइमा विभिन्न संघसंस्थाहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न माग गरेका छन् । रोम विधान अनुमोदनको मागसहित बुधबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उक्त ज्ञापनपत्र इन्सेक म्याग्दीका जिल्ला प्रतिनिधि अमृत बास्कुनेले प्रजिअ अधिकारीलाई हस्तान्तरण गरेका थिए । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने क्रममा इन्सेकको अगुवाईमा म्याग्दीमा ज्ञापनपत्र बुझाइएको इन्सेक म्याग्दीले जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने बताउँदै रोम विधान अनुमोदनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका थिए ।
ज्ञापनपत्रमा नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, मानवअधिकार तथा शान्ति समाजका सभापति ठाकुरप्रसाद शर्मा र म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दीप खत्री लगायतले हस्ताक्षर गरेका छन् ।
Previous Articleगोलकिपर किरण भारतीय क्लब पञ्जाबमा आबद्ध
Next Article जगन्नाथ मन्दिरमा विकासका पूर्वाधार थपिँदै