आइसिसी क्रिकेट विश्वकप २०१९ को लिग चरणको खेल अन्तिम चरणमा पुगेको छ।
लिग चरणको ३७ खेल सकिदा अस्ट्रेलियाले १४ अंक जोडेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। अब सेमिफाइनलको ३ स्थानका लागि ५ टिमबीचको भिडन्त हुनेछ।
११–११ अंक जोडेका भारत र न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो छ। पाकिस्तान, इंग्ल्यान्ड र बंगलादेशको पनि समिफाइनल सम्भावना छ।
भारत र न्युजिल्यान्ड अन्तिम चारमा पुगेको अवस्थामा पाकिस्तान, इंग्ल्यान्ड र बंगलादेश मध्ये एक टिम मात्र सेमिफाइनलमा पुग्नेछन्।
श्रीलंका औपचारिक रुपमा बाहिरिन बाँकी छ भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तान बाहिरिसकेका छन्।
आइतबार भारत र इंग्ल्यान्डबीच खेल हुनेछ। यो खेलमा भारतले जित हात पारे भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछन् भने एक स्थानका लागि ३ टिमको भिडन्त हुनेछ।
पाकिस्तान सेमिफाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्नु पर्ने समिकरण छ। तर त्यसका लागि इंग्ल्यान्डले बाँकी रहेका २ मध्ये एक खेलमा हार्नु पर्ने हुन्छ।
इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्न बाँकी रहेका दुवै खेलमा जित हात पर्नु पर्ने हुन्छ। इंग्ल्यान्ड आइतबार भारतसँग खेल्दैछ। अन्तिम खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
बंगलादेशलाई अन्तिम चारमा पुग्न बाँकी रहेका दुवै खेलमा जित हात पर्नु पर्ने अवस्था छ। बंगलादेशले मंगलबार भारत र शुक्रबार पाकिस्तानसँग खेल्दैछ। बंगलादेशले दुवै खेलमा जित हात पारे पाकिस्तान समूह चरणबाट बाहिरिन सक्छ।
भारत भने सहज स्थितिमा छ। आइतबार इंग्ल्यान्डसँग भिड्न लागेको भारतले मंगलबार बंगलादेश र शनिबार श्रीलंकासँग खेल्नेछ। यी तीन खेलबाट १ अंक जोडेको अवस्थामा भारत अन्तिम चारमा पुग्नेछ।