कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई हराउँदै अर्जेन्टिना र कोलम्बियालाई हराउँदै चिली अन्तिम चारमा पुगेका हुन् ।
अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट चीर प्रतिद्वन्द्वी ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुयलालाई २-० ले हरायो । अर्जेन्टिनाका लागि १० औं मिनेटमा लौटारोमार्टिनेजले गोल गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाए । दोस्रो हाफमा सब्सिच्युट खेलाडी जोभानी लोसेल्सोले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
ब्राजिलले यसअघि नै पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
अर्को क्वाटर फाइनल खेलमा साविकको विजेता चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
कोलम्बियाका विलियम टेसिलोले पेनाल्टी मिस गरेपछि नतिजा चिलीको पक्षमा गयो ।