गोरखा, १८ कात्तिक – तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पुर्याएको बिरामीका आफन्त सन्त गुरुङले जानकारी दिए ।
आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट बुधबार दिउँसो काठमाडौँ लगिएको हो । एक लाख ३० हजार भाडा तिरेर हेलिकप्टर भाडामा लिएका हौँ, गुरुङले भने, ‘छरछिमेक, आफन्तले पैसा टाएका हुन् ।’ आइतमायाको श्रीमान् माइला पदयात्रामा गएका छन् ।
स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौैँ लगिएको हो । गुम्दा गाउँसम्म सडकको ट्र्याक खुलेको भए पनि भनेका बेला जिप चल्दैनन् । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ । दुर्गम क्षेत्रमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीयवासीले ऋण खोजेर हेलिकप्टरमार्फत सुत्केरी गराउन अन्यत्र लानुपर्ने बाध्यता छ ।