काठमाडौँ, १८ कात्तिक – यसपटक हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउने उत्तरी ध्रुवका आगन्तुक चराको सङ्ख्या कम हुने देखिएको छ । नेपालमा मनसुन ढिलासम्म रही आकाश सफा नहुँदा उत्तरी ध्रुवका चराले नेपाली आकाशमा उडान भर्न नपाएपछि यो अवस्था आएको हो ।
उत्तरी ध्रुव रसिया लगायतका देशका साइबेरियन जङ्गलमा विचरण गर्ने विश्वकै दुर्लभ र सङ्कटापन्न विभिन्न प्रजातिका चरा हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउनेगर्छन् । यस पटकको मनसुन ढिलो गरी नेपालबाट हराएकाले साइबेरियन चरा नेपाली आकाशमा प्रवेश गर्न नसकेको पक्षीविद्ले बताएका छन् ।
पक्षीविद् डा. हेमसागर बरालका अनुसार यसपटक ढिलोसम्म मनसुनले प्रभाव पारेकाले नेपाली आकाशमा प्रशस्त मात्रामा साइबेरियन चराले उडान भर्न पाएनन् । फलस्वरूप यो वर्ष सधैँ झैँ उत्तरी ध्रुवका पक्षी नेपाली भूमिमा कम देखिनेभएका छन् । उत्तरी ध्रुवमा हिउँ पर्न सुरु भएपछि त्यहाँका रैथाने चराले विचरण गर्न दक्षिणी देशको भूमिमा उडान भर्ने गर्छन् ।
पहिलो चरणमा दक्षिण एसियाली देशका लागि उडेका चरा यहाँको मनसुनका कारणले अन्यत्र गएका हुनसक्ने बताइएको छ । हिउँदे याममा रसिया, मङ्गोलिया हुँदै चीनको उत्तरी क्षेत्रबाट १५० प्रजातिका पक्षी नेपाल प्रवेश गर्ने गरेको कुरा डा. बरालले बताए ।
Previous Articleइमेल काण्डपछि ट्रम्प अगाडि
Next Article आज भारतीय राष्ट्रपतिको भ्रमणले व्यस्त हुने सडकहरु