गैर आवासीय नेपाली संघ(एनआरएन) न्यूजिल्याण्डको अध्यक्षका लागि बेनी नगरपालिका–४, सिंगा बास्कुना म्याग्दीका लाल केसीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन न्युजिल्याण्डको सन २०१९–२०२१ कार्यकालका लागि केसीले अध्यक्षमा आफ्नो उम्मेदवारी सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका हुन् । केसीले आफ्नो फेसबुकबाट आफ्नो योजना र प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
केसीले ’आमूल परिवर्तनका लागी समावेशिता, पारदर्शीता र जवाफदेहीता’ भन्ने आफ्नो मुल मन्त्र रहेको बताउँदै ’नेपालीका लागी नेपाली’ महशुष गराउनु नै आफ्नो मुख्य काम हुने बताएका छन् ।
गैर–आवासीय अभियानको मर्म अनुसार आमूल परिवर्तनका लागि आधारभूत रुपमा समावेशिता, पारदर्शिता र जवाफदेहिता जस्ता मूल्य–मान्यताहरुलाई स्थापित गर्दै अगाडी बढ्नका लागि प्रतिबद्धता जाहेर गरेका छन् । केसीले निरन्तर बढ्दो संख्यात्मक उपस्थिति संगै विकाश हुंदै गरेको बदलिदो परिवेशमा न्यू जिल्याण्डभरि बसोबास गर्ने सबै पेशा, उमेर र इमिग्रेसन स्टेट्सका सम्पूर्ण नेपालीहरु अट्न सक्ने संस्थाको रुपमा एनआरएन न्यूजिल्याण्डलाई स्थापित गर्नका लागि पहल गर्ने जनाएका छन् ।
आर्थिक कोष, निर्णय प्रक्रिया, व्यवस्थापन तथा जानकारी लिने–दिने सम्बन्धमा साधारण सदस्यहरु माझ अध्यावधिक सूचना समयमै सहज र खुल्ला रुपमा आदान प्रदान गर्दै पारदर्शीता कायम गर्नु पनि लाल केसीले आफ्नो योजनाको रुपमा अगाडी सारेका छन् । साथै गुण र दोष तथा मूल्य–मान्यताका आधारमा संस्थाका सबै तहले जिम्मेवारी बोध गर्ने गराउने तथा संस्थागत मामिलाहरुमा निस्पक्ष रुपले निडर भई सहि प्रकृयामा रहेर जायज प्रश्नहरु उठाउन सकिने अनुसाशनमा आधारित परिपाटी बसाल्न पहल गर्ने जनाएका छन् ।
सन १९९६ देखि न्यूजिल्याण्डमा बसोबास गर्दै आएका केसीले नेपालीहरुका लागि धेरै सकारात्मक कामहरु गरेका छन् । अहिले सम्म नेपाली संघसंस्थाहरुको विभिन्न पदमा रहेर सामाजिक कार्यमा अग्रसर रहेका केसीले आफूले एनआरएनको अध्यक्ष भएपछि गर्ने कामको कार्ययोजना तयार गरेरै अगाडी बढी रहेको बताएका छन् । केसीले आफू जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न सक्ने भएको कारणले गर्दा नै दावेदारी पेश गरेको र जिम्मेवारी दिएकोमा पछुतो नभएर गर्वलाग्ने वातावरण बनाउने बताए ।