पोखरा, १७ कार्तिक – तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार पोखरा आउने कार्यक्रम छ । मुखर्जीको पोखरा भ्रमणलाई स, तीनफल बनाउन गठित मूल व्यवस्थापन सहयोग समितिले सम्पूर्ण तयारी पूरा भएको छ ।
सुरक्षा सम्बन्धी आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए । मुखर्जीको पोखरा भ्रमणका लागि सवारी आवागमनको पूर्वअभ्यास बुधवारै गरिएको छ ।
क्षेत्रीय प्रशासक बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति तथा त्यस मातहतका उपसमितिहरुले पोखरा शहरलाई सजाएर तथा सरसफाइ गरेर चिटिक्क पारेका छन् । पोखरामा विभिन्न नौ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ भने बिग्रेभत्केका सडक पनि मर्मत गरिएको छ ।
पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेका अनुसार पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मको बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने कार्यक्रम छ ।पोखरा विमानस्थलदेखि राष्ट्रपति मुखर्जी जाने रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म विभिन्न जातजातीबाट विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने स्वागत व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
Previous Articleसाझा धारणाका लागि स्वच्छ बहसमा जोड
Next Article रित्तो रंगशालामा खेल्यो रियल मड्रिड