पश्चिम म्याग्दीको ऐतिहासिकस्थल धौलागिरी गाउँपालिका–७, ताकममा अवस्थित ताकम–कोत मन्दिरको पुनर्निर्माणमा भक्तपुरे कलात्मक इट्टाको प्रयोग भएको छ । पुरातात्विक महत्वका प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न ताकम कोतमा भक्तपुरबाटै विभिन्न आकृतिका इट्टा ल्याएर प्रयोग गरिएको हो ।
नेपालमै प्राकृतिक सम्पदाको संरक्षणमा अगाडि रहेको भक्तपुरमा प्रयोग गरिएका पूराना शैलीका इट्टामा विभिन्न भगवानसहित पुनर्निर्माणको क्रममा मन्दिरलाई बाईसे–चौबीसे राज्यका पालामा जस्तै देखिने गरी इट्टाको प्रयोग गरिने मन्दिर पुनर्निर्माण समितिका संयोजक तेजेन्द्र थापाले बताए । उनले मन्दिर निर्माणका लागि भक्तपुरे इट्टाको प्रयोगलाई प्राथमिकता दिइएका भन्दै मन्दिरसम्म ढुवानीसहित प्रति इट्टाको २ सयसम्म मुल्य परेको जानकारी दिए ।
नेपालमा पुराना सम्पदाको संरक्षण तथा पुनर्निर्माणमा भक्तपुरको इट्टाको प्रयोग गर्ने गरिएकाले पनि पश्चिम म्याग्दीकै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित ताकम कोतमा आवश्यक इट्टा दरबाङसम्म ढुवानी गरी त्यहाँबाट ट्याक्टरमा मन्दिरसम्म पु¥याइएको धौलागिरी गाउँपालिका–७, का वडा अध्यक्ष कलानिधि सुवेदीले बताए । भक्तपुरे इट्टाको प्रयोगपछि मन्दिर कलात्मक देखिने बताउँदै उनले मन्दिरलाई सयौं वर्ष पुरानो जस्तै देखिने गरी पुनर्निर्माण भैरहेको बताएका छन् । उनका अनुसार मन्दिर तथा आसपासका संरचनाले भक्तजन एवं आन्तरिक पर्यटकलाई लोभ्याउने छन् ।
मन्दिरलाई धार्मिकबाहेक पर्यटकीयस्थल बनाउन आवश्यक संरचनालाई पुरानै रुप दिने प्रयास गरिएको जनाइएको छ । मन्दिरमा आवश्यक पर्ने इट्टालाई काठमाण्डौमा रहेका ताकमवासीले खरिद तथा ढुवानीमा सहयोग गरेका छन् । भक्तपुरको इट्टालाई दीगो र प्राचीनकालीन सम्पदामा प्रयोग गर्ने इट्टाको रुपमा लिने गरिन्छ । सयौं वर्षअघि भक्तपुरमा निर्मित सम्पदामा प्रयोग गरिएका इट्टाकै कारण पनि नेपालका विभिन्न जिल्लामा समेत त्यहाँबाट इट्टा लैजाने गरिएको छ । ताकम कोतमा भक्तपुरको इट्टासँगै वि.सं. १९९० को भूकम्पमा परेर मन्दिर भत्किएपछि पुरिएका पुराना इट्टा, पुराना काठ र कलात्मक ढुङ्गा समेत प्रयोग गरिने बताइएको छ ।
ताकम–कोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई–बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुईसय वर्षसम्म राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट वर्षेनी पुजाआजा गर्ने गरिन्छ । समुन्द्री सतहदेखि कबिर २ हजार ५ सय मिटर उचाइमा अवस्थित मन्दिरबाट धौलागिरी, गूर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगायतका मनोरम हिमश्रृङ्खलाका साथै घना वनजङ्गल र ग्रामीण वस्तीको सौन्दर्यता अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मूर्ति रहेको ताकम कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको सङ्ख्यामा भक्तजन पुग्ने गरेको धवलागिरी गाउँपालिकाका शिक्षा संयोजक गिरीप्रसाद छन्त्यालले बताए ।
मन्दिरमा नवदुर्गा, ज्येष्ठीपूर्णिमा, मंसिर पूर्णिमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ । कोतमन्दिरसहित भक्तजन र पर्यटकलाई त्यहाँ पुग्न आवश्यक पूर्वाधार विस्तार भैरहेको ताकमका युवा गोपाल आचार्यले बताए । कोतघरमा पुराना तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगायतका ऐतिहासिक महत्वका हातहतियार र पुराना सामग्रीहरु रहेका छन् ।