यही जेठ २५ गते शनिबार म्याग्दीको बेनीबजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसँगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रमबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एकलाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्नेछ ।
उक्त कार्यक्रममा पर्वत, म्याग्दी, बागलुङ, नवलपुर, स्याङ्जा, कैलाली, बैतडी, काठमाडौं, रौतहट, कास्कीलगायत विभिन्न जिल्लाहरुका युवा गजलकारहरुको विशेष प्रस्तुती रहनेछ भने युवा गजलकारहरुलाई स्थानीय वाद्यवादकहरुले समेत साथ दिने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको आयोजक म्याग्दी साहित्य सञ्चार रहेको छ ।
पछिल्लो समय म्याग्दी जिल्लामा क्रियाशिल साहित्यिक संस्थाले ‘त्रितालमा गजल’ ‘बुलबुलको आँगनमा स्रष्टा’ ‘गजल साँझ’ जस्ता फरक÷फरक कार्यक्रहरु गर्दै साहित्यिक स्रोताहरुलाई फरक साहित्यिक खुराकहरु पस्किरहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले बताए ।
साहित्यिक विधालाई अनुत्पादक तर बौद्धिक क्षेत्र भनेर चिनिने गरिन्छ । त्यति मात्र होइन नेपाली साहित्यलाई राज्य पक्षले जुन रुपमा हेर्नुपर्ने थियो त्यस्तो नजरले अहिले पनि हेर्न नसकेको अवस्था छ । नेपाल सरकारले साहित्यिक क्षेत्रलाई हेर्नका लागि भनेर नेपाल प्रज्ञा प्रतिष्ठान नामक संस्था त खोलेको छ तर त्यसको लाभ सत्ताका आसेपासे र पहुँचवाला केही सीमित ब्यक्तिहरुको पेवा जस्तै बनेको छ । राज्य तथा शासन गर्ने प्रतिनिधिहरु साहित्यप्रति अनुदार देखिए पनि केही स्वयं लेखकहरुले साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिएर साहित्यलाई जल दिने काम गरेका छन् ।
Previous Articleसंस्कृत विद्याप्रति विद्यार्थीको आकर्षण बढ्दै
Next Article गरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने