दीगो विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्न अन्नपूर्ण गाउँपालिका–२ स्थित भूरुङ–तातोपानीवासीले माग गरेका छन् । गाउँपालिकाको आयोजनामा वडा तहको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले स्थानीय तहको स्रोत साधनबाट रोजगारी सिर्जना र विकास निर्माणलाई प्रभावकारी बनाउन गुरुयोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन् ।
चालु आर्थिक वर्षको विकास निर्माण, कार्यक्रम र सेवा प्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो, सुझाव र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा शुक्रबार वडानम्बर २ को वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा स्थानीयले गाउँपालिकाबाट आगामी वर्षमा टुक्रे योजनाहरु हटाएर विकास निर्माणमा लागत मूल्याङ्कन गर्दै बजेट विनियोजन गर्न अनुरोध गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले गाउँपालिकाबाट दुई वर्षको अनुभवलाई समीक्षा गरेर आगामी योजनाहरु दीगो, प्रभावकारी र उपलब्धिमूलक बनाइने बताए । वडा तहमा योजना छनौट गर्दा वडाका जनप्रतिनिधि, टोल सुधार समिति, युवा क्लब, आमा समूहले समन्वय गरेर प्रभावकारी गौरवका योजना निर्माणमा ध्यान दिन आग्रह गर्दै उनले विकासमा समुदायको जिम्मेवारी बढाउन र भष्ट्राचार रोक्न उपभोक्ता समिति र टोल सुधार समिति गठन गरिएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक वर्षको विकास निर्माण, कार्यक्रम र प्रगतिको बारेमा जानकारी गराउँदै व्यवसायी कर स्थानीय ऐन नियमसँग रहेर कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरेको बताए । भू–तातोपानीका वडा अध्यक्ष ओमप्रसाद फगामीले भौगोलिक रुपमा छरिएर रहेको वस्ती र कर्मचारी अभावका कारण वडाको विकास निर्माण र सेवा प्रवाहलाई सहज बनाउन चुनौती रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णप्रसाद बरुवाल, कार्यपालिका सदस्य आत्मा तुलाचन र वडा सदस्यहरुले समेत सहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका सचिव अमित विश्वकर्मा र सदस्य धिरन खत्रीले सहजीकरण गरेका थिए ।