उत्तरी पर्वतको मल्लाजस्थित जलजला गाउँपालिका–३, माझफाँटमा शुक्रबार ज्येष्ठनागरिकलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट मल्लाज क्षेत्रका २ सय जनाभन्दा बढी ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय ज्येष्ठनागरिक महासंघ गण्डकी प्रदेशको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय २६ जना महिला र ७७ जना पुरुषको स्वास्थ्य चेकजाँच गरिएको आयोजकले जनाएको छ । शिविरको अवसरमा विशेष गरी मुटुरोग, नाक, कान तथा आँखासम्बन्धी समस्यालाई मध्यनजर गरी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा १ सय जनालाई निःशुल्क रुपमा चस्मा वितरण गरिएको छ भने बिरामीहरुलाई औषधी समेत निःशुल्क उपलब्ध गराइएको थियो ।
शिविरको धौलागिरी अञ्चल अस्पताल बागलुङ, बेनी अस्पताल म्याग्दी, हिमालय आँखा अस्पताल घारीपाटन पोखरा र मल्लाज स्वास्थ्यचौकीमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । शिविरमा डाक्टरहरु रविन पौडेल, नारायणप्रकाश शर्मा, मनोज घिमिरे, रिना लामिछाने, दिपा ठकुरी र मल्लाज स्वास्थ्यचौकी इन्चार्ज गोरे नेपालीले बिरामीको उपचार गरेका थिए ।
शिविरमा स्वास्थ्य चेकजाँच गर्न आएका अधिकांश वृद्धवृद्धाहरुमा नाक, कान र घाँटीमा समस्या भएका बिरामीहरु आएका थिए । कान कम सुन्ने, ग्याँस्ट्रिक, सुगर र प्रेसरका रोगीहरुले स्वास्थ्य चेकजाँच गरेको शिविरमा सहभागी धौलागिरी अञ्चल अस्पताल बागलुङका डाक्टर रविन पौडेलले बताए । उनका अनुसार पछिल्लो समय स्वास्थ्यमा पहुँच बढ्दै गएको हुँदा सुगर र प्रेसरका रोगीहरु बढेको, कतिपय वंशाणुगत गुण सरेर आएको हुँदा यस्तो समस्या देखिएको हो । यसबाट बच्नका लागि खानपानमा ध्यान दिनुपर्ने, नियमित रुपमा स्वास्थ्य चेकजाँच र औषधी सेवन गर्नुपर्ने डा. पौडेल बताउँछन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरिएको मन्त्रालयका महिला विकास अधिकृत सुशिला आचार्यले बताइन् । उनका अनुसार गण्डकी प्रदेशको मनाङबाहेक १० जिल्लामा एकदिने निःशुल्क स्वास्थ्य शिविर चलाइएको छ । शिविरमार्फत करिब २ हजार जना ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको महिला विकास अधिकृत आचार्यको भनाइ छ ।
ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै विशेषज्ञ टिमसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित शिविर आयोजना गरिएको जनाइएको छ । निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकामार्फत पनि दुर्गम क्षेत्रका स्थानीयको स्वास्थ्यमा सुधार आउने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका सचिवालय सदस्य लालबहादुर अधिकारी र राष्ट्रिय ज्येष्ठनागरिक महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गुमानसिं कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रम जलजला–३, का वडा अध्यक्ष देवेन्द्र भण्डारीको अध्यक्षता र सामाजिक विकास मन्त्रालयका अधिकृत देवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।