पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र वडानम्बर ६ दरबाङमा शुक्रबारदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित पत्रकारितासम्बन्धी तालिम शनिबार सकिएको हो ।
तालिममा मालिका गाउँपालिकाको ७ वटै वडाका ३५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले स्थानीय तहको गतिविधि, समस्या र सम्भावनाको पहिचान गरी राष्ट्रियकरण गराउन तालिम प्रभावकारी हुने अपेक्षा व्यक्त गरेकी छिन् । उनले मालिका गाउँपालिका साधन, स्रोतका हिसाबले सम्भावना बोकेको गाउँपालिकाका रुपमा रहेकोमा जोड दिँदै गाउँपालिकाभित्र रहेको कृषि, पशुपालन, पर्यटन र जडिबुटी खेतीको सम्भावनाबारे प्रचारप्रसार गरेर वृद्धि गर्न सकिने बताइन् । उनले स्थानीयको आयआर्जनमा वृद्धि हुनेगरी पत्रकारिताको माध्यमबाट प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताएकी छिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले स्थानीय तहको गतिविधि, समस्या र सम्भावनाको पहिचान गरी सत्यतथ्य र सन्तुलित रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताएका थिए । वडा नं ६ का अध्यक्ष सन्तनाथ सुवेदीले स्थानीय तहको कामलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमले रचनात्मक रुपमा खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले नयाँ संरचना अनुसार स्थानीय तह, वडा र बस्तीसम्म पत्रकारिता र सञ्चारमाध्यमको पहुँच बढाउन अभियान थालिएको बताएका छन् । म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिव अमित विश्वकर्माको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।
स्थानीयस्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ यसअघि रघुगंगा, अन्नपूर्ण, धवलागिरी र मंगला गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको थियो । यता बेनी नगरपालिकाले भने पत्रकारिता तालिमसम्बन्धी कार्यक्रम गर्न सकेको छैन ।
Previous Articleमिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने
Next Article भ्यालेन्सियाले जित्यो उपाधि