जिल्ला उसु संघ म्याग्दीको आयोजनामा बेनीमा आयोजित गण्डकी प्रदेश स्तरीय प्रथम जुनियर उसु च्याम्पियनसिपको उपाधि म्याग्दीले हात पारको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा २० स्वर्ण पदकका लागि भएकोमा ११ स्वर्ण सहित म्याग्दीले उपाधि माथि कब्जा जमाएको हो । थाउलु तर्फ ६ र सान्सौ विधा तर्फ १४ स्वर्ण पदकका लागि प्रतियोगिता भएको थियो ।
नेपाल संघिय संरचनामा प्रवेश गरेपछि कुनै पनि जिल्ला संघले गरेको पहिलो प्रतियोगिताको उपाधि संगै म्याग्दीले नगद १५ हजार पनि आफ्नो पोल्टामा परेको छ । ९ स्वर्ण पदक सहित बागलुङले दोश्रो स्थान हासिल गरेको छ भने मुस्ताङ जिल्ला तेश्रो भएको छ ।
म्याग्दीले ११ स्वर्ण, ५ रजत १ कास्य पदक प्राप्त गरेको थियो । त्यस्तै बागलुङले ९ स्वर्ण ५ रजत पदक प्राप्त गरेको थियो भने मुस्ताङले ४ रजत ४ कास्य पदक हात पारेको थियो । पर्वतले एकएक रजत र कास्य पदक हात पारेको थियो ।
प्रतियोगितामा उदयमान खेलाडीको अवार्ड म्याग्दीका समिर किसाने हात पारेका छन् । त्यस्तै सान्सौ विधा तर्फ महिला तर्फ म्याग्दीकी सोनिया बरुवाल र पुरुषतर्फ बागलुङका लेलिन रानामगर बेष्ट फाइटर घोषित भएका छन् । त्यस्तै थाउलु विधा तर्फ पुरुषतर्फ बागलुङको अनमोल बोहोरा र महिलातर्फ काजल वि.क हाइस्कोरर घोषित भएका थिए ।
सान्सौ विधाको पुरुष ३९ केजीमा बागलुङ्गका सौरभ किसान प्रथम, ४२ केजी तौलमा म्याग्दीका तोकमान पाइजा पहिलो, ४५ केजीमा म्याग्दीका रोहन तुलाचन, ४८ केजीमा म्याग्दीका कुमार पाइजा प्रथम भए । त्यस्तै ५२ केजीमा बागलुङका लेनिन राना, ५६ केजीमा म्याग्दीका सौरभ बि.क., ६० केजीमा बागलुङ्गका रेम्को पाइजा प्रथम भए । त्यसैगरी महिला तर्फ ३९ केजीमा बागलुङकी दिपशिखा किसान, ४२ केजीमा म्याग्दीकी पवित्रा शाही, ४५ केजीमा म्याग्दीकी सोनिया बरुवाल, ४८ केजीमा म्याग्दीकी दिपीका राई, ५२ केजीमा म्याग्दीकी दिक्षा राई, ५६ केजीमा बागलुङकी समिक्षा पाइजा र ६० केजी तौल् समूहमा बागलुङकी सारा पाइजाले स्वर्ण पदक हात पारेका थिए ।
त्यस्तै थाउलु विधा तर्फ पुरुष छ्वानछ्वानमा म्याग्दीका समिर किसान, नानछ्वानमा बागलुङका अनमोल बोहोरा र थाइचीछ्वानमा म्याग्दीका सज्जन बि.कले पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै गरी महिला तर्फ छ्वानछ्वानमा म्याग्दीका प्रमिसा बानियाँ, नानछ्वानमा बागलुङका काजल बि.क. र थाइचीछ्वानमा बागलुङका निकिता किसानले पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक हात पारे ।
प्रतियोगिताको समापन समारोहमा जिल्ला उसु संघ म्याग्दीका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेले पहिलो पटक जिल्लामा प्रदेश स्तरीय खेलकुद आयोजना गर्दा धेरै समस्या भएको भएपनि सफलता पूर्वक सम्पन्न गरीएको बताए । उनले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने खेलकुद विकास समिति, उद्योगी, ब्यापारी, शैक्षिक तथा सामाजिक संघ संस्थाहरुको सहयोगको आफूहरुले उच्च मूल्याङ्कन गरेको बताए ।
समापन कार्यक्रम जिल्ला उसु संघ म्याग्दीका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेको अध्यक्षता, सदस्य दिपेन राईको स्वागत र सचिव विकल कडेलको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम, लिटिल गार्डेन एकेडेमीका भाइस प्रिन्सिपल दिपक सुवेदीलगायतको उपश्थिति रहेको थियो । प्रतियोगितामा गण्डकी प्रदेश भित्रका जिल्लाहरुका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
Previous Articleभदौबाट नेकपाका जिल्ला अधिवशेन शुरु हुने अध्यक्ष प्रचण्डको खुलासा
Next Article रुप्से दैनिक ! २८ वैशाख २०७६