हरेक संरचनाका अंगहरु हुन्छन र तिनका आ-आफ्नै ढंग पनि | हाम्रै शरीरका जतिपनि अंगहरु छन् तिनका ढंग पनि फरक फरक छन | कतिपय अवस्थामा सहकार्य गर्ने अंगहरु पनि प्राथमिकताका आधारमा अगाडी र पछाडी पारी औचित्य पूर्ण ढंगले कार्य गर्दा मात्र प्रभावित बन्न सक्छन | जस्तो कि मुखले बोल्ने र दिमागले सोच्ने कार्य गर्दछ | यदि सोच्ने अंग पहिला चलाई अनि मात्र बोल्ने अंगको प्रयोग गरियो भने ती भनाइहरु कर्णप्रिय , बास्तबिक र प्रभाबकारी हुन सक्दछन तर यदि पहिला बोल्ने अनि मात्रै सोच्ने अंग प्रयोग गरियो भने परिस्थिति प्रतिकुल भै दिन्छ | उदेश्यको बिपरित अर्थ लाग्न सक्छ साथै नचाहिदो बिबादमा पनि पर्न सकिन्छ |
जुनसुकै सन्दर्भमा पनि अंगका ढंग निकै महत्वपूर्ण हुन्छन | एउटे अंगले गर्ने कार्य समय परिस्थिति र सन्दर्भ अनुसार फरक फरक हुन्छन | जस्तो कि त्यहि हातले अभिबादन गरिन्छ, फोहोर सफा गरिन्छ र कसैसंग दुर्ब्यबहार गर्न पनि अगाडी बढाईन्छ | समय र सन्दर्भ अनुसार यी अंगहरुले ढंग पुर्याएन भने हाँसोको पात्र बन्नु का साथै अप्रिय अवस्था सिर्जना गर्न सक्छ |
सबै अंग उतिकै महत्वपूर्ण भएपनि सामाजिक सांस्कृतिक मुल्य-मान्यता, संस्कार र परम्परा अनुसार कतिपय अंग पर्दा भित्र छोपेर राखिन्छ भने कतिपय त्यतिकै खुला | यसका ढंग पनि ती मूल्य-मान्यता बिपरित गरियो भने सामाजिक बहिस्करणमा परिने प्रबल सम्भावना हुन्छ | जस्तो कि जन्मिले बच्चा र जन्माउने आमा प्रसवको बेला निर्बस्त्र भए पनि पछी आ-आफ्ना अंगका ढंगहरु सामाजिक संस्कृतिक मूल्य मान्यता अनुसार निर्देशित भएका हुन्छन |
राज्यका पनि बिभिन्न अंगहरु छन् र ती अंगहरुका ढंग, उदेश्य सार्बजनिक हित लक्षित हुनु पर्छ तर उदेश्य निर्धारित गर्नेले उपयुक्त समय र प्राथमिकता अनुसार आफ्ना अंगहरुलाई प्रयोग न गरिदिदा एक नेपालीले अर्को नेपाली बाट पिडा खप्नु पर्ने अवस्थाको सिर्जना हुन्छ अनि एक अर्का बीच भावनात्मक दुरी बढ्दै जाँदा राज्य लामो द्वन्दमा फस्न सक्छ र शक्ति प्रदर्शनको लडाईमा आम नागरिक को जीवनमा संकट थपिदै जान्छ जसले आफ्नोपन होइन बिद्रोह को भाव थप्ने कार्य गर्दछ |
राज्यका अंगहरुलाई संचालन गर्ने अभिभारा बोकेका मस्तिस्कहरुले ढंग नपुर्याई ती अंगहरु लाई प्रयोग गरिदिदा आम नेपालीले गरेको अपेक्षाको प्रतिकुल ब्यबहार भोगेका अनेक ताजा उदाहरणहरु छन् हाम्रै वरिपरी | यस्तो हुँदा राज्यका अंगका ढंगहरु उदेश्य बिपरित बन्दै जान्छ चाहे त्यो सरकारी निकायका कर्मचारी का आम नेपाली सेवाग्राहीसंग गरिने ब्यबहारका प्रसंग हुन् वा प्रहरी – प्रशासनको मुस्कान सहित को सेवा जसले प्रहरीलाई आम नागरिक ले मेरो साथी भन्ने ब्यबहारहरुको अनुभूति गर्न सकोस |
हरेक संरचनागत अंगहरु आ-आफ्नो कार्य बिशिस्टताले स्वतन्त्र देखिए पनि नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप एक अर्का संग अन्तर सम्बन्धित हुन्छन | समय र सन्दर्भले पनि तिनका कार्य सम्पादनलाई प्रभावित पार्ने गर्छ | तर पनि राज्यका अंगहरु कुनै व्यक्ति, समुदाय वा शक्ति द्वारा निर्देशित हुनुको साटो सम्पूर्ण देश र नागरिकको हित को निम्ति कार्य सम्पादन गर्न पाए ती अंगहरु प्रतिको सम्मान र बिश्वास बढ्नुको साथै समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा गर्न सकिने आधारहरु निर्माण गर्न सजिलो हुन्थ्यो होला |
सहि कार्य सम्पादन को लागी सहि संरचना हुन् जरुरि हुन्छ | संरचनामा रहेको समस्यालाई कुनै एक अंगले समाधान गर्न सकिन्न बरु त्यो संरचनालाई नै परिमार्जन र पुनर्निर्माण गर्नु पर्ने हुन्छ जसरी अहिले नेपालको राजनीतिमा देखिएको अन्योलता, अदुरदर्शिता र अशक्ष्मताका बिभिन्न प्रसंगहरुलाई सामाजिक संजालहरुमा ठट्टाका बिषय बनाइए पनि बास्तवमा ती आधारहीन महत्वाकांक्षा बाँड्ने परम्पराको निरन्तरता मात्रै हो भनि बुझ्नु पर्दछ फरक यति छ कि पहिला बिज्ञान –प्रबिधि संग सर्बसाधारण नेपाली त्यति नजिक थिएनन् जसले गर्दा काहाँ, कसले ,कसरी र के गरे वा भने त्यसको खासै जानकारी हुदैनथ्यो | अहिले परिस्थिति त बदलियो तर ति अंगहरुले सम्पादन गर्ने कार्यशैलीमा खासै परिमार्जन गरिएन जसले गर्दा समय –समयमा रास्ट्रिय तथा अन्तरास्ट्रिय जगतमा हाँसो ,रिस असक्षमता तथा घृणाको थुप्रै उदाहरण दिएका छन देशका सम्मानित पद धारी र पदक धारिहरुले |
राज्यका चार महत्वपूर्ण अंगहरु,जसमा सामाजिक परिवर्तनका लागि निकै महत्वपूर्ण भूमिका निभाउने जिम्मेवारी बोकेका मिडियाले पनि आफ्नो अंगको ढंग न पुर्याउदा समाजमा थुप्रै नकारात्मक परिवर्तनका कारणहरु बन्न पुग्छन | कुन बेला, कुन बिषय र कसरी यी तीन महत्वपूर्ण घटक लाई समय-सन्दर्भ अनुसार व्यक्तिगत वा संस्थागत प्रगति को लागि मात्रै निर्देशित गरिदिंदा ती प्रस्तुतिहरु, मिडियाका अंग का ढंग मा देखिने कमजोरी का उदाहरण बन्न पुग्छन | कहिलेकाँही प्रभुत्वशाली व्यक्तित्वका बकम्फुसे गफलाई बढी उचाली दिंदा, साधारण व्यक्तिका महत्वपुर्ण प्रयासहरु ओझेलमा परिराखेका हुन् सक्छन त्यसैले राज्यका चौथो अंगको ढंग पनि समय मै सामाजिक न्याय प्रतिको उत्तरदायित्व बुझी त्यसै अनुरुप भै दिए आम नेपालीको लागि एक विश्वासिलो आधार बन्न सक्छ |
हामीसबैले देखेको र महशुस गरेकै कुरा हो यदि शरीरका कुनै अंगमा समस्या भयो र यसका ढंगहरुमा असर देखियो भने यसको असर सम्पूर्ण शरीरले महसुस गर्छ र त्यसको पहिचान र निर्क्योल गर्ने तर्फ समय मै स्वयं विचार पुर्याउनु पर्छ न कि छर छिमेकी संगका छलफल र निर्देशन अनुसार |
त्यस्तै सर्बसाधारणका बुझाइमा पनि हाम्रो देशका बिभिन्न भूभागमा देखिएका समस्याहरुलाई समय मै महशुस गरि राज्यले स्वयम् समाधान गर्न बेवास्ता गरिदिदा अहिले राष्ट्रले अनेक आर्थिक, सामाजिक र मनोबैज्ञानिक क्षति बेहोर्नु परेको छ | त्यसैले व्यक्ति, समुदाय,समाज, संगठन र राज्यका प्रत्येक अंगहरु निकै महत्वपूर्ण हुन्छन र तिनका महत्व बुझी सहि तरिकाले त्यसका ढंगहरुलाई सामाजिक न्याय प्रति निर्देशित गरिनु पर्दछ जसले एउटा सम्मुनत नेपालको निर्माण गर्न सहयोग पुर्याओस |
हरेक संस्थाका पनि बिभिन्न कार्य प्रयोजनको लागी अनेक अंगहरु निर्माण गरिएको हुन्छ तथापी सहि अंगलाई उचित ढंगले परिचालन गर्न सहि व्यक्ति सहि ठाउमा राखिन जरुरि हुन्छ अन्यथा क्षणिक लाभ देखिए पनि लामो समय पछी ठुलो खति बेहोर्नु पर्ने हुन्छ | त्यसैले हरेक क्षण हरेक अंगका ढंगहरु पुर्याई कार्य गर्ने तर्फ व्यक्ति, संस्था र राज्य पनि संबेदनशील हुन आवश्यक छ |
लेखक समाजशास्त्री हुन्