उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ । चौथो गोरखा भूकम्प स्मृति कार्यक्रमको सन्दर्भमा बुधबार नवनिर्मित विद्यालयको २ कोठे पक्की भवनको उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार म्याग्दीको आयोजनामा एक समारोहबीच विद्यालय भवनको उद्घाटन गर्नुका साथै समुदायलाई हस्तान्तरण गरिएको छ । उक्त भवन निर्माणका लागि प्राधिकरणको जिल्ला कार्यान्वयन इकाइले कन्टेनजेन्सीबाहेक २० लाख १६ हजार पाँचसय ३२ रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । त्यसमा स्थानीयले एकलाख आठहजार रुपैयाँ बराबरको श्रमदान गरी कुल २२ लाख ५६ हजार पाँचसय ३० रुपैयाँको लागतमा विद्यालयको पक्की भवन बनाएका छन् ।
नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले विनाशकारी भूकम्पमा परेर क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि सबै क्षेत्र र तहबाट पहल गरिएको बताए । उनले विद्यालयलाई आवश्यक पक्की भवन बनाइएको बताउँदै अब योग्य, सक्षम र दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापनका लागि जिल्ला समन्वय समिति र प्रदेश सरकारमा पहल भैरहेको बताए । उनले नागरिकलाई गाउँपालिकामार्फत सबै सेवासुविधाहरु उपलब्ध गराउने भन्दै दुर्गम तथा विकट गाउँलाई प्राथमिकता दिइएको बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नागरिकको सुरक्षालगायत आवश्यक सेवासुविधा प्रदान गर्न सरकार तयार रहेको बताउँदै गाउँगाउँमा लगाइने मेला महोत्सवलाई नियमन गर्न मापदण्ड बनाइएको हुँदा त्यसको पूर्णरुपमा कार्यान्वयन गरिने बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार म्याग्दीका प्रमुख शिवराम गेलालले विनाशकारी भूकम्पमा परेर म्याग्दी जिल्लामा कुल ९७ ओटा विद्यालयहरु प्रभावित बनेको बताए । उनले तीमध्ये ३१ ओटा विद्यालय निर्माणको क्रममा रहेको हुँदा चालु आर्थिक वर्षभित्र २० विद्यालयको पुनर्निर्माण सकिने बताउँदै हालसम्म ५ विद्यालय निर्माणसम्पन्न भैसकेको जानकारी दिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, वडा अध्यक्ष मनकुमार शेरपुञ्जा र सदस्य टेकजित छन्त्यालले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिममाया छन्त्यालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गमबहादुर छन्त्यालको अध्यक्षता, शिक्षक हिरादेवी छन्त्यालको स्वागत र स्थानीय युवा मन छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दरबन्दीका २ जना, निजी स्रोतका ३ जना शिक्षक, एकजना बालविकास सहजकर्ता र एकजना कार्यालय सहयोगी कार्यरत रहेका छन् । कक्षा १ देखि ८ सम्म अध्ययन हुँदै आइरहेको विद्यालयमा करिब १ सयजना विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।