दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शनिबार भएको खेलमा किंग्स इलाभेन पञ्जाबका तीन महत्वपूर्ण विकेट लिए। दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा भएको खेलमा दिल्लीले ५ विकेटको जित निकाल्यो। जितका लागि सन्दीपको भूमिका महत्वपूर्ण थियो। सन्दीपले पञ्चाबका केएल राहुल र क्रिस गेल गरी दुबै ओपनर र मध्यक्रममा अलराउन्डर साम करनलाई आउट पारे।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले हरेकचोटी मौका पाउनासाथ आफूलाई प्रमाणित गर्नु पर्ने बताए।
‘म सधैं मेरो भूमिका पूरा गर्न चाहन्थें। हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ,’ सन्दीपले भने,‘कहिलेकाहिँ प्लेइङ ११ मा नपर्दा दु:ख लाग्छ, तर टिममा राम्रा वैकल्पिक खेलाडी चाहिन्छन्। मेरो विचारमा टिम व्यवस्थापनसँग क्रिकेटको धेरै राम्रो ज्ञान छ। उनीहरूको आफ्नै योजना हुन्छन् र त्यसैले भिन्नभिन्न प्लेइङ ११ छान्छन्। मैले अझै सुधार गरिरहनु पर्छ।’
पछिल्ला २ खेलमा दिल्लीको अन्तिम ११ मा नपरेका सन्दीपले शनिबार पञ्जाबविरूद्धको खेलमा ४० रन खर्चँदै ३ विकेट लिन सफल भए।
दिल्लीले अलराउण्डर किमो पलको ठाउँमा हिजो बलिङका लागि उतारेको थियो।
उनले हिजो चार ओभर नै बलिङ गरे।
दोश्रो ओभरमा बलिङमा आएका सन्दीपको पहिलो बलमा पंजाबका केएल राहुलले छक्का प्रहार गरे। दोश्रो बल डट बनाएका सन्दीपलाई राहुलले तेश्रो बलमा चौका प्रहार गरे। चौथो बलमा भने राहुल १२ रन बनाउँदा विकेटकिपर ऋषभ पन्तबाट स्ट्म्पिङ भए। यस्तै पाँचौ बलमा मयंकलाई डट फाले भने छैटौं बलमा मयंकले १ रन लिए।
त्यसपछि खेलको चौथो ओभरको पहिलो ओभरमा क्रिस गेलले सन्दीपको बलमा चौका जोडे, दोश्रो बल डट भयो भने तेश्रो पुनः गेलले चौका प्रहार गरिदिए। यस्तै पाँचौ बल फेरि डट गराएका सन्दीपले छैटो बलमा गेललाई फेरि चौका दिए। यो ओभर उनका लागि महँगो सावित भयो।
चौथो ओभरमा महँगो साबित भएका सन्दीपले त्यसको भरपाई खेलको १२ ओभरमा २ विकेट लिदैं पुर्ति गरे।
उनको पहिलो बलमा गेलले छक्का प्रहार भने दोश्रो बलमा उनले गेललाई बाउण्ड्री लाइन नजिकै अक्षर पटेलको हातबाट क्याचआउट गराए। गेल क्याच भएसँगै दिल्लीका लागि खतराको सूचक बनिरहेका गेलबाट दिल्लीले राहत पायो। उनले त्यसपछिका लगातार ३ बल डट बल फ्याँके भने अन्तिम बलमा साम करनलाई आफैले क्याच गरेर पेभेलियनको बाटो देखाइदिए।
यसपछि खेलको १५ औं ओभरमा बलिङ गर्न आएका सन्दीपको पहिलो बलमा पंजाबका मन्दीपले १ रन लिए। दोश्रो बलमा आश्विनले चौका प्रहार गरे। तेश्रो बल डट गराएका उनले चौथो बलमा १ रन दिए भने पाँचौमा फेरि डट फ्याँक्दै अन्तिम बलमा मन्दीपलाई १ रन दिएर आफ्नो ओभर समापन गरे। सेतोपाटीबाट