श्री कृष्णागण्डकी ज्येष्ठनागरिक सेवा केन्द्र बेनी, म्याग्दीको शनिबार बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
केन्द्रको उपाध्यक्षमा नैनकुमार श्रेष्ठ, सचिवमा पूर्णबहादुर जिसी, कोषाध्यक्षमा रामजीप्रसाद सुवेदी, सहसचिवमा हरिप्रसाद पौडेल र सहकोषाध्यक्षमा विष्णुप्रसाद गौतम चयन भएका छन् । सदस्यहरुमा दयासागर शर्मा, कृष्णप्रसाद शर्र्मा, प्रकाशकुमार श्रेष्ठ, निर्मला श्रेष्ठ, विक्रम श्रेष्ठ, सावित्री बानियाँ र लक्ष्मीकुमारी जोशी रहेको प्रमुख निर्वाचन आयुक्त ठाकुुरप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले ज्येष्ठनागरिकलाई सबैले माया, ममता र हौसला दिनुका साथै सहयोग गर्नुपर्ने बताए । उनले पछिल्लो पुस्तामा बढ्दै गएको धन सम्पत्तिको मोहले ज्ेष्ठनागरिकलाई जति माया र सम्मान गर्नुपर्ने हो त्यो हुन नसकेको बताउँदै ज्येष्ठनागरिकको हक, अधिकार एवं संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ज्येष्ठनागरिकको हक, अधिकार र सम्मानका लागि नगरपालिका सधैं तत्पर रहेको बताएकी थिइन् । बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ज्येष्ठनागरिकलाई आवश्यक पर्ने सबैखाले सहयोग गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ॐ ताओ गुरु सुवर्णकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश सदस्य कुविरकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका सञ्चालिका रिना दिदी, नेपाल बाल सङ्गठनका अध्यक्ष नेत्रबहादुर महत, नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र बेनी शिवालय मन्दिर संरक्षण समितिका अध्यक्ष बिक्रम श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले संस्थागत, सचिव पूर्णबहादुर जिसीले प्रगति र कोषाध्यक्ष रामजीप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षता र स्वागत तथा सचिव जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।