सन्दीप शर्मा/चिमखोला
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा बिहीबारदेखि एकीकृत घुम्ती शिविर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना र रघुगंगा गाउँपालिकाको समन्वयमा दुर्गम तथा ग्रामीण भेगका सर्वसाधारणलाई घरदैलोमै सरकारी सेवासुविधा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको हो ।
बृहत तथा निःशुल्क घुम्ती शिविरमार्फत ४२ जनालाई नागरिकता, ३० जनाको मतदाता नामावली सङ्कलन, ज्येष्ठनागरिक परिचयपत्र ५१, बेरोजगार फाराम १२ र ४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । यसैगरी शिविरमा ५ हजार २ सय ४४ गोटा पशु तथा पन्छीहरुको उपचार गरिनुका साथै निःशुल्क औषधी वितरण गरिएको बताइएको छ ।
बिहीबार कुल १ सय २८ जना कृषकहरुले पालेका ३३६ गाई, ३०४ भैंसी, १५२९ बाख्रा, २२९५ भेडा, ७४३ कुखुरा, १५ टर्की, ६ घोडा, १२ खच्चड, २÷२ वटा खरायो तथा कुकुरको उपचार गरिएको छ । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयको सामाजिक परिषद अन्तर्गत रहेको स्वास्थ्य शाखाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ३१० जनाले उपचार सेवा पाएका छन् । शिविरमा कृषि पशुपालन तथा वनसम्बन्धी शिविर तथा गोष्ठी कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले कास्कीका प्रमुख डाक्टर तुलबहादुर पुनले सहजीकरण गरिरहेका छन् ।
मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराका प्रमुख अग्नीप्रसाद नेपाल, एनएलएसआइपी मेगा प्रोजेक्टका डा. लक्ष्मण ढकाल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका निर्देशक डा. मनबहादुर पुनले समेत शिविरमा कृषकहरुलाई पशुपालनसम्बन्धी विषयमा जानकारी गराइरहेका छन् । नेपाल लाइभस्टक भेक्टर इनोभेन्ट आयोजनाबारे बिउबिजन तथा अभिमुखीकरण गोष्ठी पनि सञ्चालन गरिएको छ ।
शिविरको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले आफूले चुनावको समयमा जनताको बिचमा गरेका सबै वाचाहरु पुरा गर्ने बताइन् । उनले म्याग्दी जिल्लाको विकास निर्माणका लागि केन्द्रमार्फत आफूले पहल गरिरहेको बताउँदै जिल्लामा पर्यटनको पर्याप्त सम्भावना भएकाले धौलागिरी आइसफल पदमार्ग निर्माणमा डिपिआर तयार भैरहेको जानकारी दिएकी छिन् । मन्त्री थापाले चिमखोलावासीलाई गाउँको विकास निर्माणका लागि आवश्यक योजना बनाएर माग गर्न आग्रह गर्दै पिप्ले–दग्नाम–चिमखोला हुँद घ्याँसीखर्क पुग्ने सडक निर्माणमा २ करोड बजेट विनियोजन भएको बताउँदै थप बजेट छुट्याउनका लागि लबिङ गरिरहेको बताएकी थिइन् । युवाहरु व्यावसायिक उद्यमका क्षेत्रमा लाग्नुपर्ने र त्यसका लागि योजना बनाएर बजेट कार्यक्रम माग गर्न सुझाव दिँदै त्यसका लागि आवश्यक तालिम, गोष्ठी, बजेटका लागि केन्द्रीय तहबाट सहयोग गर्ने मन्त्री थापाको भनाइ छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नेपाल सरकारको सार्वजनिक सेवा प्रवाहलाई जनतामाझ पु¥याएर प्रभावकारी सेवासुविधाहरु उपलब्ध गराउन गाउँगाउँमै पुगेर एकीकृत घुम्ती शिविरको आयोजना गरिएको बताए । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता, मन्त्रालयको सचिवालय सदस्य गमबहादुर पुनको सञ्चालन र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले स्वागत गरेको कार्यक्रममा वडा अध्यक्ष देउबहादुर पुनले मन्तव्य राखेका थिए ।
Previous Articleलायन्स क्लब बेनी महरानीको नयाँ कार्यसमिति चयन
Next Article रुप्से दैनिक ! १५ चैत्र, २०७५