म्याग्दीको बेनी नगरपालिका–८, क्याम्पसचोकस्थित मुक्तिनाथ विकास बैंकको ११४औं शाखा म्याग्दीको बेनीमा स्थापना भएको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुक्तिनाथ विकास बैंक म्याग्दी शाखाको सदरमुकाम बेनीमा उद्घाटन गरिएको हो ।
म्याग्दी शाखाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बजारसँगै ग्रामीण बस्तीमा लगानीको प्राथमिकता दिनुपर्ने बताए । उनले बैङ्किङ क्षेत्रबाट गरिने लगानीले आर्थिकस्तरमा परिवर्तन आउने बताउँदै गुणस्तरीय सेवा प्रदानसहित सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले उद्योग व्यवसायमा वित्तीय क्षेत्रबाट सन्तुलित व्याजदर कायम गर्नुपर्ने बताउँदै उत्पादनमूखी क्षेत्रमा लगानीको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा बेनपा–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले मन्तव्य राखेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष खिमप्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । बैंकले ४० प्रतिशत रकम उत्पादनशिल क्षेत्रमा लगानी र ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको जनाएको छ । तीन अर्ब ६ करोड चुक्ता पुँजी, ३८ अर्ब १४ करोड निक्षेप सङ्कलन र ३२ अर्ब ९८ करोड लगानी रहेको बैंकको देशभर १ सय १४ शाखा, २२ वटा एटिएम र करिब ६ लाख ग्राहकहरु रहेको बताइएको छ ।
कार्यक्रम मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षता, म्याग्दी शाखा प्रमुख सुदिप घिमिरेको स्वागत र अधिकृत नगेन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।