प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोसुकै भए पनि कारवाही हुने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा आइतवार हिउँदे अधिवेशन समापन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले जहाँ भ्रष्टाचार छ, त्यहाँ छानबिन र कारवाही हुने बताएका हुन् ।
‘मैले भनेको थिएँ, म पनि भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ,’ प्रधानमन्त्रीले भने, ‘जहाँ भ्रष्टाचार छ त्यहाँ छानबिन हुन्छ, कारवाही हुन्छ, जोसुकै होस् ।’
यस सम्बन्धमा के भयो, त्यस सम्बन्धमा के भयो ? भनेर आफूलाई प्रश्न सोधिने गरेको भन्दै प्रधानमन्त्री ओलीले काम भइरहेको बताए ।
३३ किलो सुन भारतबाट बरामद भएको, कञ्चनपुरमा जमिनमुनि सुन भेटिएको, भ्रष्टाचारका कारण कारवाहीमा पर्ने डरले अख्तियारका आयुक्तले राजीनामा दिएको कुरालाई प्रधानमन्त्री ओलीले आफ्नो उपलब्धिको रूपमा पेश गरे ।
‘भ्रष्टाचार भइरहेको रहेछ, अख्तियार आयुक्तले पनि कारवाहीको डरले राजीनामा दिए,’ प्रधानमन्त्री ओलीले भने ।