प्रताप बानियाँ
हिमालै हिमालले घेरिएको म्याग्दी जिल्ला हिमाली जिल्लाका रुपमा सुचीकृत भएपछि म्याग्दीका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । संघीय संसदको दुईवटा सदनमार्फत केही नेपाल ऐन संशोधनका क्रममा म्याग्दी हिमाली जिल्लामा सुचीकृतसम्बन्धी प्रस्ताव पारित भएसँगै पर्यटन व्यवसायीहरु हर्षित बनेका हुन् ।
हालै मात्र संसदले पारित गरेको सो प्रस्ताव राष्ट्रपतिले प्रमाणिकरण गरी राजपत्रमा प्रकाशन भएपछि म्याग्दीले हिमाली जिल्लाको औपचारिक रुपमा मान्यता पाएको छ । म्याग्दी २१औं नम्बरमा हिमाली जिल्लाका रुपमा सुचीकृत भएको छ भने यसअघि नेपालमा २० ओटा जिल्ला मात्रै हिमाली जिल्लाका रुपमा रहेका थिए । म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित भूपेन्द्रबहादुर थापाको विशेष पहलमा म्याग्दी हिमाली जिल्लामा सुचीकृत भएको हो ।
म्याग्दी हिमाली जिल्ला बनेसँगै खासगरी जिल्लामा पर्यटन व्यवसाय फस्टाउने र आर्थिक विकास हुने आँकलन गरिएको छ । हिमाली जिल्ला भएको हुँदा म्याग्दीलाई हिमालको रोयल्टी प्राप्त हुने, ग्रामीण क्षेत्रमा रोजगारको सिर्जना गर्न सकिने र जिल्लामा पर्यटनसम्बन्धी गतिविधिहरु समेत बढ्ने धौलागिरी पर्यटन परिषद म्याग्दीले जनाएको छ । परिषदका अध्यक्ष अमर बानियाँले म्याग्दी हिमाली जिल्लामा सुचीकृत भएपछि पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउँदै पर्यटन आगमन बढ्ने बताएका छन् ।
म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष एवं पर्यटन व्यवसायी बाबुराम आचार्यले म्याग्दी हिमाली जिल्लामा सुचीकृत हुनु खुसीको कुरा भएको हुँदा जिल्लामा आर्थिक गतिविधि बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष एवं भ्रमण वर्षका अभियन्ता राजेश शाक्यले म्याग्दी हिमाली जिल्लाका रुपमा सुचीकृत हुनु गौरवको विषय भएको हुँदा यसले जिल्लालाई फाइदा पुग्ने अपेक्षा गरेका छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले म्याग्दी हिमाली जिल्लामा सुचीकृत भएसँगै विकास बजेट बढ्ने र दुर्गम क्षेत्रमा कर्मचारी खटाउन सहज हुने बताए ।
पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–४, मुदीमा नेपालको दोस्रो तथा संसारको सातौं अग्लो धौलागिरी हिमाल पर्दछ । यसैगरी उत्तरी अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अन्नपूर्ण हिमाल रहेको छ । धौलागिरीमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन् । अन्नपूर्ण हिमालमा अन्नपूर्ण, प्रथम, दोस्रो, उत्तर र दक्षिण पर्दछन् । म्याग्दी सदरमुकाम बेनीदेखि २६ कोष टाढा धौलागिरी–१, गूर्जामा गूर्जा हिमाल, पश्चिम गूर्जा, पुठा, चुरेन हिमाल रहेका छन् । म्याग्दीको अधिकांश ठाउँहरुबाट मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
म्याग्दीमा धौलागिरी, अन्नपूर्ण, मानापाथी, निलगिरी, गूर्जा, हिमचुली, पुठालगायत हिमालहरु रहेका छन् । यसका साथै नेपाल पर्वतारोहण संघले म्याग्दी जिल्लामा ६ हजार मिटर अग्ला विभिन्न ५१ ओटा हिमचुचुराहरु रहेको प्रमाणित गरेको छ । म्याग्दीको जुन डाँडाकाँडामा पुगेपनि थुप्रै हिमालहरु देख्न सकिने र हिमालै हिमालले घेरिएको भए पनि यसअघि उच्च पहाडी जिल्लाका रुपमा म्याग्दी सीमित थियो ।
Previous Articleरुप्से दैनिक ! ०२ चैत्र, २०७५
Next Article रुप्से दैनिक ! ०३ चैत्र, २०७५