प्रताप बानियाँ
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीले आज सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी विधान अनुसार चल्ने बताउनुभएको हो ।
सभापति देउवाले पार्टी भित्रको विवादलाई अन्त्य गर्नका लागि प्रयास गरिरहेको बताउँदै सहमति खोज्दाखोज्दै आफूले काम गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पार्टी विधान अनुसार चल्नुपर्ने भए पनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निस्किएको भन्दै नेपाल विद्यार्थी संघको विवाद अन्त्य गरिने बताउनुभएको छ ।
महासमितिको बैठकले पारित गरेका विषयप्रति पत्रकारले राखेको जिज्ञासामा देउवाले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला र सुशील कोईरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिएको बताउनुभयो ।
कांग्रेस सभापति देउवाले हालै मात्र सरकारले सिके राउतसँग गरेको सहमतिका विषयमा आफूले अध्ययन गर्न बाँकी रहेको बताउनुभएको छ । स्वतन्त्र मधेशका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भए पनि सरकारले बुदाँगत रुपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने उहाँको भनाइ छ ।
Previous Articleमोना कुवेतको अध्यक्षमा प्रेम बहादुर बिश्वकर्मा
Next Article भारतमा ११ अप्रिलदेखि ७ चरणमा मतदान