काठमाडौं, १३ कात्तिक – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकार बनाउने र भत्काउने खेल चलिरहेकोले देशको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।दसैं, तिहार, नेपाल सम्बत्, छठलगायत पर्वका अवसरमा एमाले काठमाडौं वडा नम्बर ४ कमिटीले शनिबार धुम्बाराहीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले नयाँ संविधानमा व्यवस्था भएको शासकीय स्वरुप र निर्वाचन प्रणाली सच्याउनुपर्ने बताएका हुन् । शासकीय स्वरुप र निर्वाचन प्रणाली सरकार परिवर्तन गर्ने राजनीतिक अस्त्रमात्रै बनेको उनको टिप्पणी छ ।
महासचिव पोखरेलले भने, ‘शासकीय स्वरुप र समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै दललाई बहुमत आउन नदिने र सरकार बनाउने, गिराउने प्रक्रिया चलिरहनाले कुनै पार्टीसँग भएको देश बनाउने भिजन लागू गर्न सकेन ।’ उनले एमाले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमै रहे पनि संविधान जारी गराउन मात्रै पुराना व्यवस्था शासकीय स्वरुप र निर्वाचन प्रणाली स्वीकार गरेको प्रष्ट पारे ।
संविधानमा केही अनुचित प्रावधान रहेको भन्दै महासचिव पोखरेलले संविधान संशोधन हुनुपर्ने बताए । उनले भने, ‘एमाले आफ्नो हैसियत स्थापित गर्दै संविधान संशोधनको लागि अगाडि बढ्ने तयारीमा छ ।’
सुगौली सन्धी ताका झुकेको नेपालको स्वाभिमानको शीर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उठाउने कोसिस गरेको पोखरेलको दाबी छ । उनले भने, ‘भारतबेष्ठित नेपालको यथार्थ जीन्दगी सच्याउने कोसिस एमाले नेतृत्वको सरकारले गरेको थियो, तर त्यसलाई भारतविरोधी र चीनको समर्थनको रुपमा देखाउने कोसिस गरियो, तर कुरा त्यस्तो होइन ।’
‘एमाले न भारतविरोधी न, चिनपरस्त हो’ पोखरेलले भने, ‘आश र त्रासको क्षेप्यास्त्र प्रयोग गरेर त्यतिबेला सत्ता गठबन्धन भत्काइयो ।’ अहिले राजनीतिमा अनुहार नेपाली देखिए पनि अरु देशको काम गर्नेहरुको बोलावाला सुरु भएको पोखरेलको भनाइ छ । तर, एमालेले देशहित विपरीतका ‘विजिनेस’ रोक्ने कोसिस गर्ने उनले बताए ।