सन २०१६ मा भारतको सिलोङ र गुहाटीमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता पछि नेपालले उक्त प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको थियो । प्रत्येक दुई वर्षमा दक्षिण एसियाका ८ देशहरुले पालैपालो आयोजना गर्दै आएको उक्त प्रतियोगिताको १३ औं संस्करण नेपालमा आयोजना हुनु पर्ने थियो । गत वर्ष नै प्रतियोगिता सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिले सम्म कुनै चालचुल नै नभएको देख्दा अहिले पनि खेल हुँदैन कि भन्ने आशङ्का हुनु स्वभाविक नै हो । तर सन २०१८ मा सम्पन्न गर्नु पर्ने भएपनि त्यस वर्ष नसकेको हो र चालु वर्ष अर्थात् २०१९ मा त कुनै पनि हालतमा उक्त प्रतियोगिता गर्नै पर्छ । नत्र भने श्रीलङ्काले प्रतियोगिता आयोजनाका लागि दावेदारी प्रस्तुत गरेकै छ । यस हिसाबले हेर्दा पनि यदी यो वर्ष प्रतियोगिता गर्न सकिएन भने नेपालको हातबाट दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मेवारी फुत्कनेछ ।
दक्षिण एसियाली खेलकुद आयोजना मात्र होइन देशले नै आयोजना गर्ने राष्ट्रिय खेलकुदको पनि अहिले सम्म कुनै टुङ्गो लाग्न सकेको छैन । कुनै पनि प्रतियोगिताका लागि दावेदारी मात्र नभएर त्यसको तयारी पनि महत्वपूर्ण कुरा हो । यस हिसाबले हेर्ने हो भने पनि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु पर्ने २०७५ मै हो तर जिल्ला छनौट सकिएर प्रदेश स्तरको छनौट सुरु भै सकेको भएपनि राष्ट्रिय खेलकुदका लागि भने मितिकै टुङ्गो नलाग्दा खेलाडीमा नैराश्यता हुनु स्वभाविक पनि हो । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा उत्साह भएन भने पक्कै पनि समस्या हुन्छ नै । प्रदेश स्तरमा छनौट प्रतियोगिता फागुन ४ देखिशुरु भएर २९ गते सकिने भएपनि केन्द्रीय तबरबाट हुने प्रतियोगिताको तिथिमिति नै नतोकीदा खेलाडीहरुले के कसरी प्रतिस्पर्धा गर्ने भन्ने तनाब त पक्कै छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्न र दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग) आयोजना गर्नका लागि सरकार तथा युवा तथा खेलकुद मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडी बढाउन नसकेको हो कि जस्तो देखिएको छ । पटकपटकको आग्रह अनि निर्देशन हुँदा पनि कामको गति नबढ्दा सबैले संका गर्ने ठाँउ बनेको छ । देशकै प्रतिष्ठाको विषयको रुपमा रहने साग प्रतियोगिता नै नगरेर देशकै प्रतिष्ठा जोगाउनका लागि सबै लाग्नु पर्नेमा सरकारले दिएको निर्देशन अनि खेलाडीमा भएको उत्साह मार्नका लागि किन लाग्ने? सबै नेपाली खेलाडी अनि दक्षिण एसियाली देशका खेलाडीहरुको चाहनाको विषय खेलकुद प्रतियोगिता समयमै आयोजना गरेर दक्षिण एसियाली खेलकुदको गरिमालाई थप उचो बनाउँ ।