मानसिक अवस्थाको तेस्रो स्वरुप लापर्वाही हो । यस्ता ज्यान सम्बन्धि मुद्दामा मानिसलाई मार्ने लक्ष्य हुदैन तर कामको परिणाम मानिस मर्न सक्छ भन्ने कर्ताको दिमागमा रही खतरा मोलेको अवस्था रहन्छ । जसलाई सुत्रवत रुपमा समेत व्यक्त गर्न सकिन्छ । लापर्वाही= इच्छाशक्ति नहुनु +खतरा देखिनु +अनआवश्यक खतरा मोल्ने काम हुनु +खतरापूर्ण काममा होमिनु =देखिएको खतरा अनुसार पूर्ण अपराध हुनु ।वास्तवमा लापर्वाहीमा सचेत भई अस्वभाविक वा अवान्छित खतरा मोल्ने काम गरिएको हुन्छ । यसमा सम्भावित परिणाम देख्दादेख्दै त्यसलाई अटेर गर्ने वा त्यसबाट बच्ने सोचले कर्ता अगाडि बढेको हुन्छ । लापर्वाही शब्द खास गरेर दोषी वा निन्दा प्रकट गर्न बनेको शब्द हो । कुनै पनि ब्यक्तिलाई आक्रमण गर्ने योजना बनाउने र सोही अनुसार कार्यान्वयन गर्ने जस्ता काम हुदैनन् । मनसाय तत्व हुदैन । यसमा संभावित परिणामलाई अनदेखा गरी अस्वभाविक र असमान्य खतरा मोलेर काम गरिएको हुन्छ । यसमा जोखिम मोल्ने तत्वलाई रोकाबट गर्नुपर्नेमा त्यसो नगरी अगाडि बढेको अवस्था हो । यसमा कानूनी गल्ती भएर पनि कसूर गर्ने मनसाय तत्व नभई नचाहिदो खतरा मोल्ने काम हुन्छ । यसैले संभावित परिणाम उत्पन्न नभएमा कसूरको उद्योग हुदैन । त्यसैले लापर्वाही भनेको गरिएको काम जहाँ नचाहिदो खतरा मोलिएको हुन्छ र उक्त खतरा अभियुक्तले देखिरहेको हुन्छ तर उसले आउने परिणाम तर्फ ध्यान नदिई कार्यलाई अगाडी बढाइ रहेको हुन्छ ता की नचाहिदो परिणामबाट बचाउन सक्छु भनेर । ड्राइभरले व्यस्त सडकमा तिब्र गतिमा गाडी चलाउदा मानिस पनि पर्न सक्ने कुरा देखेको हुन्छ तर उसले गति घटाएको हुदैन अगाडी बढी रहेको हुन्छ । उसको मनसाय खतरा भए पनि बचाउन सक्छु भन्ने विश्वासमा हुन्छ । यस्तो अवस्थामा उसको गाडीले ठक्कर दिइ कसैको ज्यान जान्छ भने यहाँ लापर्वाही हुन्छ । तर ठक्कर नदिएमा ज्यान मर्ने उद्योग हुन सक्दैन । यहाँ मात्र होइन लापर्वाही कुनै पनि उद्योग हुन सक्दैन । मानिस बसेको घरमा आगो लगाउने काम लापर्वाही हो । बेरितसँग थुनी खाना नदिइ मानिसको हत्या हुन्छ भने लापर्वाही हो तर मानिस मरेन भने यहाँ ज्यान मार्ने उद्योग हुन सक्दैन । लापर्वाही कर्ताले गरेका निन्दनिय काम के के छन भनी मुद्दामा देखिनु पर्छ । वादीले यी यी लापर्वाही गरेका तथ्यहरु हुन भनी किटान गरी मुद्दामा लैजानु पर्छ । लापर्वाही खास गरेर कुनै विषय प्रति मन दिने क्रिया‚वास्ता‚सरोकार‚चासो‚परवाह‚चिन्ता फिक्री‚सोचविचार ख्याल अवस्था नदेखाई हुन सक्दैन । स्कुल अगाडी तिब्र गतिमा गाडी गुडाउनु लापर्वाही हो तर स्कुल चाँही देखिनु पर्छ । मानिसले कुनै पनि गर्दै आएको काममा कहिले काही ध्यान नपुगी सोच विचार गर्ने अवस्था नरहन सक्छ ।त्यसैले पर्वाह हुनको लागि कुनै न कुनै सूचित तथ्य मुद्दामा आएको अवस्थामा मात्र बेपर्वाहको अवस्था उत्पन्न हुने हो । यहाँ सूचित हुनु पर्ने तथ्य झण्डै ज्ञातयुक्त अवस्थासँग नजिक रहेको हुन्छ । लापर्वाही खास गरेर गम्भिर हेलच्क्राइँको नजिक देखिन्छ ।
कर्ताले आफूले गरेको कामबाट विशेष खालको परिणाम आउने खतरा देखेको छ र निजले गर्ने काम निजले जानेको परिस्थितिमा त्यस्तो खतरा लिनु मनासिव थियो भनी यी दुई वटा कुरालाई मुद्दामा हेर्नु पर्ने हुन्छ । यस विषयमा कर्ता जानकार रहेको अवस्थामा खतरा मोलेको आधारमा दायित्व आउछ । जब खतराको जानकारी नै छैन भने खतराको अवस्था आउने कुरा नै हुदैन । यहाँ कर्ता खतरापूर्ण कामबाट निश्चित परिणाम वा परिस्थितिको निर्माणको बारेमा जानकार रहेको हुन्छ । जुन कुरा आफ्नो दिमागद्धारा देखेको हुन्छ । त्यस्तो परिणाम वा परिस्थिति आउछ भन्ने कुरा जानकारी हुँदा हुँदै खतरा मोलेकोमा दायित्व आउने हो । तर हरेक कर्ताले गर्ने काममा कुनै न कुनै प्रकारको खतरा नहुने भन्ने हुँदैन । चाहे त्यो गाडीको ड्राइभरले होस् वा पाइलटले होस् वा डाक्टरले होस् आफूले काम गर्दा सामान्य खालको खतरा मोलेको देखिन्छ । तर यिनिहरुले गर्ने यस्ता सामान्य खालका काममा लापर्वाही हुने अवस्था भने हुनुहुदैन । यस्ता कामको मुल्याङ्कन के त्यो परिस्थितिमा कर्ताले त्यस्तो गर्नु उचित थियो थिएन गर्नुपर्ने देखिन्छ । यहाँ कर्ता निश्चित रुपमा खतरा परिणाम ल्याउछ भन्ने थाहा हुँदा हुँदै अनआवश्यक खतरा मोली आउने परिस्थितिमा अनदेखा गरी जथभावी गरी बेमतलब गरी काम गर्दछ भने त्यस्तो काम लापर्वाहीको दायित्वमा आउछ । यस अन्तर्गत उसको बुझाइ‚ज्ञान वा अनुभवको सीमितताको कारणले पनि यस्तो खतरा मोलको अवस्था आउन सक्छ । तर त्यही स्तरको खतरा अनुभव प्राप्त व्यक्तिले मोल्ने अवस्थामा रहे नरहेको वा यस सम्बन्धि पूर्व ज्ञान भए नभएको भन्ने कुराको आधारमा पनि दोषको दायित्व आउने गर्दछ । कुनै पनि मुद्दामा आएका तथ्यहरुबाट कर्तालाई यस सम्बन्धि पूर्व ज्ञान भए नभएको कुरा स्पष्ट हुने नै हुँदा अदालतले पनि यसको पहिचान गर्दछ । यसलाई प्रमाणित गर्ने कुरा भने साह्रै गाह्रो हुन्छ । प्रमाणित भएमा भने दिमागमा नै नभएको कुरामा खतरा मोलेको आधार फौजदारी कानून अनुसार काम भएमा पनि दोषी दिमागी अवस्था नहुदा दोषी नहुने परिस्थिति समेतलाई हेर्नु पर्छ । हाम्रा कतिपय सामाजिक मुल्य र मान्यताहरु यस्ता छन की ढोका बन्द गर्नु परेमा घर भित्र कोही त छैन भनी हेर्नु पर्छ । यदि कोही व्यक्ति ढोका लगाइ कोठामा भोकै भई मर्छ भने मैले थाहा पाइन भन्न मिल्दैन । त्यस्तै बन्दुक बोक्दा लाइसेन्सको शर्त बमोजिम मात्र बोक्नु पर्छ । लाइसेन्सको शर्तहरु थाहा थिएन भन्न मिल्दैन । किताबको बाहिरी कभर मात्र हेरी किताब किनी भित्र हेर्दा अश्लिल चित्र भएको पाइयो भने कभर हेरेर मात्र किताव किनेको हुँ भन्दा समाजले पत्याउदैन ।यस्ता कुराहरुमा कर्ताको ध्यान नपुगेको पनि हुन सक्छ । तर अदालतले यस्ता कुराहरुमा लापर्वाही गरेको भनी दोषी हो भन्नु पर्ने अवस्था सृजना हुन जान्छ ।त्यसैले मनसायमा स्वेच्छिक रुपमा चाहे बमोजिमको परिणाम प्राप्त गर्ने काम हुन्छ भने यसमा त्यस्तो परिणाम जो लापर्वाही गरी वा नचाहिदा खतराहरु मोलेर त्यो परिणाम प्राप्त गर्ने कामकुरालाई कर्ताले जानाजान गरेको रुपमा लिइन्छ ।तसर्थ ऐनमा जानाजान काम गरेको‚सोचविचार गरी गरेको काममा झै मनसाय तत्व पाइदैन । यहाँ कर्ताले जोखिम मोलेको छ परिणाम आउछ भने उसले जानाजान काम गरेको मानिन्छ । कुनै पनि लापर्वाहीपूर्ण रुपमा गरेको अपराधिक काममा दायित्व वहन गराइने हो । त्यसैले कर्ताले निश्चित परिणाम प्राप्त गर्न वा परिस्थितिको निर्माण गर्न त्यस्तो गर्न नहुने खतरापूर्ण काम गरेको भन्ने आधार देखिएमा निजको दिमागी अवस्था इच्छाइएको सरह नै मान्यता पाउछ ।