म्याग्दीको बेनी नगरपालिका ५ डडुवाकी मृगौला पिडीत महिला हरिकला खत्रीका लागि ज्योती युवा क्लबको अगुवाई र www.erupse.com संगकाे समन्वयमा बेनी बजारमा सहयोग संकलन गरिएको छ । मंगलबार बेनी बजार क्षेत्रमा क्लबको अगुवाईमा ६७ हजार चार सय ४५ रुपैंया संकलन भएको छ । क्लबका अध्यक्ष दिनेश कार्कीको अगुवाईमा क्लबका पदाधिकारी तथा अन्य शुभचिन्तकहरुको समूहले बेनी बजार क्षेत्रमा सहयोग रकम संकलन गरेको थियो ।
बजार क्षेत्रमा युवा क्लबका सदस्य तथा अन्य व्यक्तिहरुले सहयोगका लागि आग्रह गर्दै हिडेका थिए भने आम सर्वसाधारणहरुले स्वतःस्फुर्त रुपमा सहयोग गरेका थिए । संकलित रकम क्लबको निगरानीमा बैंक खातामा राखिएको अध्यक्ष कार्कीले बताए ।
ज्योती युवा क्लबका सदस्य समेत रहेका कृष्णकी आमाको दुवै मृगौलामा समस्या देखिएकाले पोखरा स्थीत गण्डकी अस्पतालमा उपचार भै रहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोगका लागि क्लब मार्फत परिवारले अपिल गरेको कारणले गर्दा क्लबकै अगुवाईमा आर्थिक संकलन अभियान थालिएको क्लब अध्यक्ष कार्कीले बताए । संकलित रकम हरिकला खत्रीको उपचारका लागि प्रत्यक्ष निगरानीमा मात्रै खर्च गरीने क्लबले जनाएको छ । सहयोग गर्न चाहने दाताहरुलाई क्लब सँग समन्वय गरेर आर्थिक सहयोग गर्न समेत क्लबले आग्रह गरेको छ ।