प्रताप बानियाँ
म्याग्दी – प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा बाथटप र थप पोखरी सञ्चालन भएको छ । कुण्डमा स्नान गर्न आउने बिरामीहरुको चाप बढेपछि तीनवटा बाथटप र थप एउटा पोखरी निर्माण गरी सञ्चालन गरिएको हो ।
हालै मात्र नवनिर्मित बाथटप (नुहाउन मिल्ने) क्याबिन र पोखरीको शुक्रबार बेनपा–४, का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल र तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले उद्घाटन गरेपश्चात् औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । कुण्डको नजिकै बाथटप क्याबिन र कुण्डभन्दा बाहिर धारो नजिकै डुबुल्की मार्नका लागि एउटा पोखरीको निर्माण गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
बाथटपमा एकपटकमा तीन जनाले नुहाउन सक्ने क्षमताको तीनवटा क्याबिन रहेका छन् । बाथटप क्याबिनमा नुहाउनका लागि समितिले एक घण्टाको दुईसय रुपैयाँ शुल्क तोकेको छ भने साबुन र टाबेलको व्यवस्था गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । तीनवटा बाथटप क्याबिनमा छुट्टाछुट्टै कोठामा एक्लै नुहाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।
कुण्ड बन्द भैसकेपछि, कुण्डमा भीडभाड भएमा, महिला र पुरुषको पालो छुट्टाछुट्टै परेमा, रिजर्भमा नुहाउन चाहेमा वा अध्ययन अवलोकन तथा भ्रमणमा आउने टोलीलाई लक्षित गरेर पोखरी थपिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । उनले तातोपानी कुण्डको मुहानबाट पानी ल्याएर सङ्कलन गरी स्नान गर्ने व्यवस्था मिलाइएको उक्त पोखरी १२ मिटर लम्बाई र १२ मिटर चौडाइको रहेको जानकारी दिए ।
कुल पाँचलाख रुपैयाँको लागतमा निर्माणसम्पन्न गरिएको बाथटप र पोखरी निर्माणका लागि कुण्ड व्यवस्थापन समितिले तीनलाख रुपैयाँ लगानी गरेको छ । यसैगरी उक्त बाथटप क्याबिन तथा पोखरी निर्माणमा बेनीका क्याप्टेन केशवप्रसाद गौचनले एकलाख, रुपन्देही निवासी हिराबहादुर गौतमले ५० हजार एकसय र काठमाडौंका तेजिन्द्र खड्काले ५० हजार रुपैयाँ सहयोग गरेको कुण्डका अध्यक्ष शाक्यको भनाइ छ । तातोपानी कुण्डमा पछिल्लो चरणमा पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
नेपालीका साथै विदेशी पर्यटकहरु पनि कुण्डमा स्नान गर्न आउने गरेका छन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसँगै निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ ।
कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु पटकपटक आउने गरेका छन् । स्वदेश तथा विदेशका ठूला र महङ्गा अस्पतालहरुमा लाखौं रुपैयाँ खर्च गरेर पनि रोग निको नभएपछि बिरामीहरु तातोपानी कुण्डमा आएर स्नान गर्दा उनीहरु निको भएर पुनः फर्कने गरेको समितिले बताएको छ । कुण्डमा डुब्नका लागि समितिले टिकटको व्यवस्था गरेको छ ।
तातोपानी कुण्डमा बाथटप र पोखरी थपियो, बाथटपमा एक्लै नुहाउन पाइने
Previous Articleरुप्से दैनिक ! २६ माघ, २०७५
Next Article मेस्सी बने संसारका सबैभन्दा धेरै तलब लिने फुटबलर