
काठमाडौँ । गुठीको जग्गाको व्यवस्थापनका लागि मस्यौदा विधेयक तयार गरिएपछि दाङको स्वर्गद्वारी गुठीको जग्गा जोतभोग गर्दै आएका २२ हजार मोही आन्दोलनमा उत्रिएका छन् । विधेयकको मस्यौदामा आफूहरूलाई नसमेटेर बिचल्ली पार्न खोजेको उनीहरूको गुनासो छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवस्थापनका लागि ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक’को मस्यौदा तयार गरेको छ । यसमा देशभरका गुठीलाई सेमेटिएको छ । तर, स्वर्गद्वारी गुठीलाई भने समावेश गरिएको छैन । ‘देशका सबै गुठी समेटिएका छन्, तर स्वर्गद्वारीलाई छुटाएको छ,’ स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले भने ।
गुठीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले १४ चैत, ०६२ मा गरेको फैसलामा स्वर्गद्वारी आश्रमलाई ‘विशेष प्रकृतिको निजी गुठी’ भनेर व्याख्या गरिएको छ । तर, गुठीसम्बन्धी विधेयकमा अन्य पाँच प्रकारका गुठीलाई समेटिए पनि ‘विशेष प्रकृतिको ‘निजी गुठी’का विषयमा केही उल्लेख नगरिएको चौधरीको भनाइ छ । ‘अहिले विधेयकमा नसेमेटिए भोलि जग्गा प्राप्तिलगायत राज्यबाट गुठीमा बसोवास गर्ने मोहियानी किसानलाई उपलब्ध गराइने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ,’ अध्यक्ष चौधरीले भने । आन्दोलनरत मोहीले जिल्ला प्रशासन कार्यालय, दाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । उनीहरूले प्रशासन कार्यालयमा धर्ना पनि दिएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ ।
भोगचलन गरेको जग्गा माग
स्वर्गद्वारी गुठीका मोहीहरूले भोगचलन गर्दै आएको जग्गा किसानलाई नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् । ‘मोहीको हकवालाले मात्र मोही हक पाउने व्यवस्थालाई खारेज गरी जुन किसानले जुन जग्गामा घरगोठ बनाएको र भोगचलन गर्दैै आएको छ, त्यो जग्गा त्यही किसानलाई उपलब्ध गराउनुपर्छ,’ अध्यक्ष चौधरीले भने ।
त्यस्तै, चार बिघाभन्दा बढी जग्गा एक व्यक्तिले मोही हक भर्न नपाउने प्रावधान पनि खारेज गर्न माग गरेका छन् । पुस्तौँदेखि भोगचलन गर्दै आएका किसानको परिवारको सदस्य संख्या बढ्दै गएकाले चार बिघा जग्गाले मात्रै खानपिन गर्न समेत नपुग्ने उनीहरूको भनाइ छ । यसले किसान परिवारको उठीवास लाग्ने उनीहरूले बताएका छन् ।
स्वर्गद्वारीमा २२ हजार मोही
स्वर्गद्वारी आश्रमको करिब एक हजार दुई सय बिघा जग्गा छ । यो जग्गा पुस्तौँदेखि किसानले जोतभोग गर्दै आएका छन् । उनीहरूमध्ये अधिकांश थारू समुदायका किसान छन् ।
यो जग्गामा २२ हजार परिवारले जोतभोग गरिरहेको जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष हरिनारायण चौधरीले बताए । तीमध्ये धेरैजसो जग्गामा मोहियानी लागेको उनको भनाइ छ । देउखुरीस्थित लमही नगरपालिकाको चैलाही, वनगाउँ, अर्नवा, मजगाउँ, सतबरिया, उच्चानिम्बु र गंगदीमा स्वर्गद्वारीको जग्गा रहेको संघर्ष समितिका सचिव भरतराज गिरीले बताए । त्यस्तै, घोराही उपमहानगरको रामपुर, पलाँसे, ढोडेनी, झिँगौरा नैनवार, सुर्केडाँगी, हर्नकलगायतका स्थानमा पनि किसान बस्दै आएका छन् ।