
काठमाडौँ । प्रदेश २ का प्रदेश सांसदहरू दलित र मुसहर बस्ती दौडाहामा निस्केका छन् । आर्थिक रूपले विपन्न दलित तथा मुसहर समुदायको अवस्था बुझ्न प्रदेश सांसद उनीहरूको गाउँबस्ती पुगेका हुन् ।
जनता आवास कार्यक्रम र दलित तथा मुसहरहरूको पीडाबारे समाचार प्रकाशित गरेपछि राजनीतिक दलहरूले आफ्नो ध्यानाकर्षण गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – राजपाकी प्रदेश सभा सदस्य सुरिता साहले आफ्नो क्षेत्रअन्तर्गतको लोहारपट्टी नगरपालिका–४ को लेउरी बस्ती तथा सोही वडाका अन्य दलित बस्तीको अनुगमन गरेकी छिन् । जनता आवास कार्यक्रमबाट घर पाए पनि समयमै निर्माण सम्पन्न हुन नसकी घरविहीन मुसहर तथा दलितहरूको अवस्थाबारे उनले जानकारी लिएकी थिइन् । ६ सयभन्दा बढी मुसहर समुदायको बसोवास रहेको सो वडामा जम्मा ४० जनाले मात्र जनता आवास कार्यक्रमअन्तर्गत घर पाएका छन् ।
स्थानीय तहलाई आवश्यक निर्देशन दिन्छौँ : प्रजिअ ढकाल
महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दशगजामा बसेका मुसहरबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । उनले मुसहर र दलित घरधुरीका विषयमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनेसमेत बताए । आइतबार नयाँ पत्रिकामा ‘दशगजामा जीवन गुजार्दै मुसहर’ शीर्षकमा समाचार आएपछि प्रजिअ ढकालले त्यसबारे चासो देखाएका हुन् ।
दशगजामा अनुगमन
राजपाकै अर्की प्रदेश सांसद रानी शर्मा तिवारीले मनरा सिस्वा नगरपालिका–१० मधवा दशजगामा बसेका मुसहर बस्ती अनुगमन गरेकी छिन् । केही समयअघि प्रदेश सभामा उनले भूमिहीन मुसहरलाई जग्गा तथा घरसमेतको व्यवस्था गर्न माग गरेकी थिइन् । उनले दशगजामा बसिरहेका नेपाली नागरिकले पाउनुपर्ने सेवासुविधा दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् ।