
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताएका छन् । सहिद हेमनारायण यादवको १५औँ स्मृतिसभालाई सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको हितका लागि सरकार सकारात्मक रहेको बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – देउवा नेतृत्वको सरकारले देशको ढुकुटी रित्तो पारेकाले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको दाबी छ । ‘वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेरै दिन छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘आउने आर्थिक वर्षमा सरकारले अवश्य बढाउनेछ ।’
प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताए । मधेसका विषयमा चलाइएका अतिरञ्चित हल्लाको जवाफ काम गरेर दिने प्रधानमन्त्रीले बताए । ‘मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् । तर, सरकारको कामले ती सबैको जवाफ दिन्छ,’ प्रधानमन्त्रीले भने, ‘हुलाकी सडकको निर्माण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिनअघि झापा विमानस्थलमा रात्रिकालीन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदै छ ।’
प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग, निजगढ विमानस्थल, कमला–मरिन डाइभर्सनबाट तराईलाई सिँचाइ गर्ने योजनाका काम धमाधम भइरहेको बताए । यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरूको स्तर वृद्धिका लागि धमाधम काम भइरहेको उनले बताए ।
तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यस जिल्लाबाट निरक्षरता उन्मूलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु,’ उनले भने, ‘त्यसका लागि गत वैशाख ५ गते यसै जिल्लाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।’
०६० माघ १९ गते तत्कालीन नेकपा (एमाले) सिरहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारयण यादवको धनुषा र सिरहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो । त्यही दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो । प्रधानमन्त्री ओलीले शनिबारै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालयको शिलान्यास गरेका छन् । शनिबार उनले चन्द्र माध्यमिक विद्यालय सिरहा नगरपालिका–१ मा छात्रावास भवनको पनि शिलान्यास गरे ।