
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने एक सय २७ लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – महिना दिनयता प्रहरीले सुरु गरेको विशेष अप्रेसनपछि पक्राउ परेका उनीहरूमध्ये ३ महिला र २१ पुरुष पुर्पक्षका लागि जेल चलान गरिएका छन् । दुई महिला र १८ पुरुष धरौटीमा छुटेका छन् । बाँकी ८३ जनाको भने
हिरासतमै थप अनुसन्धान भइरहेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले पक्राउमध्ये केही भारतीयमूलका छन् । उनले भने, ‘चोरीविरुद्ध प्रहरीले विशेष अप्रेसन चलाएको थियो । जसमा अधिकांश नेपाली युवा–युवती पक्राउ परेका छन् । केही भने भारतीयमूलका पनि पक्राउ परेका छन् । उनीहरूविरुद्ध विशेष अनुसन्धान भइरहेको छ ।’
धेरैजसो चोरी दिउँसै
प्रहरीका अनुसार पक्राउ परेका मध्ये अधिकांश दिउँसोको समयमा चोरी गर्नेहरू छन् । एकान्त घर तथा सुनसान अवस्थाका घर उनीहरूको पहिलो निशानमा रहने प्रहरीको भनाइ छ । महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘विशेष गरी दिउँसो हुने चोरीका घटना बढेका छन् । एकान्त स्थानका सुनसान घरमा धेरै चोरी हुने गरेको पाइयो । उजुरी बढेपछि हामीले संयुक्त रूपमा अनुसन्धान ग-यौँ । यही क्रममा उनीहरू पक्राउ परे ।’
प्रहरीका अनुसार उनीहरूले विशेष गरी तत्काल नगदमा बदल्न सकिने सामग्री चोरीको पहिलो निशाना बनाउने गरेको पाइएको छ । सोही कारण टेलिभिजन, मोबाइल, सुन र चाँदीका गहना चोरी हुने गरेको प्रहरीले बताएको छ । काठमाडौं परिसरका प्रमुख एसएसपी लामाले भने, ‘टिभी, मोबाइल, सुन, चाँदीजस्ता सामग्री धेरै चोरी हुने गरेको पाइयो । किनकि, यस्ता सामग्री तुरुन्तै बिक्न सक्छन् । अब हामीले चोरीका यस्ता सामग्री खरिद गर्नेहरूलाई पनि पक्राउ गर्छौँ । केहीलाई पक्राउ गरिसकिएको छ ।’