
काठमाडाैं । कांग्रेस नेता रामचन्द्र पौडेलले ७ फागुन ०७६ मा महाधिवेशन उद्घाटन गर्नुपर्नेसहितको कार्ययोजना ल्याएका छन् । केही समयअघि सम्पन्न महासमिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यसमितिमा प्रस्तुत ‘उज्यालो भविष्यका लागि समयबद्ध काम गरौँ’ भन्ने प्रस्तावलाई पौडेलले सोमबार केन्द्रीय समिति बैठकमा पुनः पेस गरेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ०७२ फागुनको तेस्रो साता सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको नियमित चारवर्षे कार्यकाल ०७६ फागुनको तेस्रो साता सकिनेछ । तर, विशेष कारण देखाएर एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधा नेतृत्वलाई हुन्छ ।
तर, पौडेलले समयमा महाधिवेशन नगर्दा स्थानीय तह, प्रदेश संघीय निर्वाचन गर्न अप्ठ्यारो हुनुका साथै निर्वाचनमा भोगेको पराजय स्विकारिसकेपछि अनैतिक हुने तर्क अघि सारेका छन् ।
बैठक नौ दिनपछि
महासमितिबाट पारित विधान, राजनीतिक र सांगठनिकसहितका प्रस्तावलाई परिमार्जन गर्ने, नेविसंघका विषयमा निर्णय लिनुपर्ने भए पनि केन्द्रीय समितिको बैठक २३ माघमा बस्ने गरी सारिएको छ । २१ माघमा देशभर प्रदर्शन गरेपछि कांग्रेसले २३ माघमा बैठक डाकेको हो । सोमबारको बैठकमा रामचन्द्र पौडेलसहित ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डे र गगन थापाले धारणा राखेका थिए ।