लमजुङ, ११ कार्तिक – सदरमुकाम बेंसीसहर बजारका मिठाई पसलले सरसफाइमा बेवास्ता गर्नुका साथै सडेगलेका सामग्री बेच्ने गरेको पाइएको छ।
संयुक्त बजार अनुगमन समितिको अगुवाइमा बुधबार गरिएको अनुगमनमा बजारका स्विट तथा चाट हाउसको लापरबाही खुलेको हो। मिठाई पसलेले बासी, झिंगा भन्केको र सडेगलेकै खाद्यवस्तु उपभोक्तालाई बिक्री गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन संयोजक कृष्णप्रसाद पौडेलले जनाए।
उनका अनुसार पसलेले लड्डु, रसवरी, गुलाबजामुन, जेरी, समोसा, पकौडा, नमकिनलगायत खानेकुरा नछोपिकन राखेकाले धुलो पर्नुका साथै झिँगा भन्किरहेका थिए। ‘खानै नमिल्ने खालको, गन्हाउने गरी राखेको भेटियो,’ पौडेलले भने, ‘ती सबै अखाद्य वस्तु पसलधनीलाई नै नष्ट गर्न लगायौं।’
Previous Articleनिर्वाचनसँगै संविधान संशोधन भएमा संविधान कार्यान्वयन – दाहाल
Next Article अब अख्तियार सामूहिक निर्णयबाट चल्ने