सूचना तथा सञ्चार मन्त्रालयले फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट खोल्नेमाथि कडा निगरानी राखेको छ ।
फेक एकाउन्ट सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ ।
पुस १७ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले प्यारोडी एकाउन्ट चलाउने कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो ।
ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा प्यारोडी एकाउन्ट खोल्नेलाई बेलैमा पहिचान गरी कारबाही नगरे देशको स्थिति भयावह हुनेछ, बेलैमा ध्यान जावस् भन्ने गुनासो हेलो सरकारमा गरिएको थियो ।
सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई र नेताहरू रामशरण महत, गगन थापालगायतका प्यारोडी एकाउन्ट चर्चित छन् ।
ट्वीटरले एकाउन्टको परिचयमा प्यारोडी, फेक, फ्यान वा कमेन्ट्री भनेर स्पष्ट जनाई वास्तविक ह्यान्डलसँग हुबहु नहुने गरी एकाउन्टको नाम राखेर प्यारोडी एकाउन्ट चलाउन दिन्छ ।