बेलायती महारानी एलिजाबेथका श्रीमानलाई त्यहाँको प्रहरीले आफ्नो कार्यालयमा बोलाएर केरकार गरेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । बेलायत जस्तो विश्व महाशक्तिका महारानीका श्रीमान अर्थात् राजपरिवारका सदस्यलाई पनि प्रहरीले कार्यालयमै बोलाएर केरकार गर्ने भन्ने सवाल उठ्न सक्छ तर त्यो सत्यलाई अहिले सबैले देखिसुनिरहेका छन् । राजपरिवारका सदस्यलाई नै त्यही देशको प्रहरीले केरकार गरेको असामान्य घटना भए पनि कानुनी राज भएको मुलुकमा प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको छ । जब कुनै पनि नागरिकलाई कानुनले छुन्छ भने त्यस देशका राजा वा प्रधानमन्त्री हुन् वा राष्ट्रपति नै किन नहुन् सबैलाई कानुन लाग्छ र सबैले कानुन मान्नै पर्छ ।
बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपलाई गाडी चलाउँदा सिटबेल्ट नलगाएको पाएपछि प्रहरीले बोलाएर केरकार गरेको थियो । नेपालमा सिटबेल्ट नलगाइ चालकले सवारी चलाउने धेरै हुन्छन् । यहाँ सिटबेल्ट प्रहरीका लागि लगाइदिएको जस्तो ठान्ने मानसिकता छ । मोटरसाइकल चलाउँदा हेल्मेट पनि ट्राफिक प्रहरीका लागि हो कि जस्तो गर्छन् मोटरसाइकल चालकले । तर उनीहरुले कहिल्यै सोचेनन् कि गाडी चलाउँदा सिटबेल्ट लगाउनु र मोटरसाइकल चलाउँदा हेल्मेट भनेको आफ्नै लागि सुरक्षा कवज हो भन्ने अरुले बुझाइदिन पर्ने अवस्था छ । जबसम्म सिटबेल्ट र हेल्मेटका लागि पनि अरुले सिकाउन र सम्झाउन पर्छ भने उनीहरुबाट अरु के आशा गर्ने ? गाडी चलाउँदा मोबाइलको प्रयोग गर्ने, मदिरा सेवन गरेर सवारी हुइकाउने र अरुका लागि जसरी सुरक्षा कवजको प्रयोग नगर्दा आफ्नै दुर्दशा हुन्छ भन्ने कहिले बुझ्ने र कसले बुझाइदिनु पर्ने ? आफ्नो सुरक्षाका लागि गाडी चलाउँदा सिटबेल्ड र मोटरसाइकल चलाउँदा हेल्मेट लगाउँदा आफ्नै सुरक्षा हुने हो ।
बेलायत जस्तो महाशक्ति देशमा त प्रहरीले युवराजलाई नै बोलाएर केरकार गरेर गैह्र जिम्मेवारी पूर्ण तबरले नचल्न सुझाव दिन्छ तर हामी यहाँ किन हठ निकालेर राज्यलाई नै बन्धक बनाउन खोज्दै छौं । अहिले डा. गोविन्द केसी एक व्यक्तिले अनसन बसेर देशको कानुन नै फेर्नु पर्ने र आफूले भने बमोजिम कानुन निर्माण गर्नु पर्ने भनेर किन दवाव दिन्छन् । कुनै समय अनसनकै क्रममा ज्यानै गुमाएको इतिहास पनि छ । तर, अनसनकारीले मृत्युवरण नै गर्नु पर्छ भन्न खोजिएको भने कदापी होइन । मात्रै एक जनाको हठले गर्दा देश बन्धक बन्न हुँदैन । अहिले पछिल्लो समय डा. केसी आफूसँग भएको पछिल्लो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक संशोधनसहित पास हुनुपर्ने मागमा अनसनरत छन् भने विजय थापा उक्त विधेयक हुबहु पास हुनुपर्ने मागसहित अनसनरत छन् । डा. केसी असनसन बसेको २ दिनपछि थापाले अनसन सुरु गरेका थिए । यसरी अनसनबाटै आफ्नो माग पूरा गराउनु खोज्नु संसदलाई गुमराहटमा राख्नु हो । त्यसैले संसदले एकजना व्यक्तिको माग भन्दा पनि ३ करोड नेपालीलाई सहज हुने तरिकाले उचित कानुन निर्माण गर्नुपर्दछ । एकजना व्यक्ति डा. केसी हुन् या थापा, व्यक्तिकै मुडेबल अनुसारको कानुन बनाउन पर्छ भन्ने छैन । अनसनरतद्वय डा. केसी र थापाले आफ्नो हठ त्यागेर कानुन र विधिको शासनको पालना गर्दै कानुनसम्मत संघर्ष गर्नु पर्छ । आफूमात्रै नभै सबैको राज स्वीकार गरी विधिको विजयलाई स्वीकार्नुमा नै सबैको जित हुनेछ ।