उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित ज्ञानप्रकाश माविमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई शुक्रबार दुर्गाप्रसाद स्मृति कोषद्वारा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गत वर्षको एसइई परीक्षामा विद्यालयमै उत्कृष्ट नतिजा ल्याउने रचना गुरूङ (३.३५ जिपिए) र रियोज्ना तामाङ (३.३५ जिपिए) र कक्षा ११ र १२ मा प्रथम हुने सन्तोष सुवेदीलाई जनही पाँच–पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र वितरण गरिएको हो ।
यसैगरी सोही कोषबाट उच्च शिक्षा अध्ययरत राजकुमार विक र बिमल पूर्जालाई वार्षिक छात्रवृत्ति अन्तरगत १० हजारका दरले नगद प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए । पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष नरसिंहबहादुर पूर्जा, कोषका संस्थापक कृष्ण तुलाचन र कविन तुलाचन, शिक्षा विकास कोषका उपाध्यक्ष हितप्रसाद गौचन, कोषाध्यक्ष मान गर्बुजा, फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष बल पूर्जाले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै कोषका संस्थापक कृष्ण तुलाचनले विद्यार्थीको उज्वल भविष्यको निम्ती कोषको पहलमा पूर्वाधारसहित विभिन्न कार्यक्रमहरु ल्याइएको बताए । उनले आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीलाई भविष्यमा पनि प्राथमिकतामा राखेर काम गरिने बताउँदै एसइई र उच्च शिक्षा उत्र्तीण गरेपछि विद्यार्थीहरुले आफ्नो भविष्यका लागि आफैले विषय रोजेर अध्ययन गर्नुपर्ने बताए ।
सम्मान कार्यक्रममा वडा अध्यक्ष पूर्जाले जीवनको ठूलो आधार नै शिक्षा भएकाले सफलताका लागि निरन्तर पुस्तकसहित रचनात्मक क्रियाकलापमा लगाव राख्नुपर्ने बताए । सोही अवसरमा प्रवासमा रहेका दानावासीले ज्ञानप्रकाश माविको शैक्षिक तथा भौतिक पूूर्वाधार विस्तारमा खेलेको भूमिकाको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाले धन्यवाद दिएका थिए । सोही अवसरमा स्वर्गीय भूमिसुधार आन्दोलनका अगुवा तथा विद्यालयका संस्थापक चक्रप्रसाद तुलाचनको श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्जाको अध्यक्षता, कोषका अध्यक्ष तुलाचनको प्रमुख आथित्य र शिक्षक मदन घिमिरेले सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleलैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तकृया कार्यक्रम
Next Article प्रधानमन्त्री ओलीको दमदार जवाफ, हेर्नाेस प्रश्नोत्तर