
चितवन । चितवन महोत्सवको गरिमासँग जोडिएको फुड फेस्टिभल बुधबार सम्पन्न भएको छ । चितवन महोत्सवअन्तर्गत नेवाः पुच नारायणगढको संयोजनमा नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभल आयोजना गरिएको हो ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ – २८ पुसमा सुरु फेस्टिभलमा खानाको मौलिक परिकारलाई चिनाउन पहल गरिएको फुड फेस्टिभल व्यवस्थापन समिति संयोजक योगिता पियाले जानकारी दिइन् । पाँच दिनसम्म सञ्चालन भएको फुड फेस्टिभलको करिब ८० हजारजनाले अवलोकन गरेका छन् । फुड फेस्टिभलमा मनोरञ्जनात्मक कार्यक्रम, फेसन सो, हास्य प्रहसन र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । फुड फेस्टिभलमा दूध, पोल्ट्री, केरा, माछालगायतका परिकारका साथै स्थानीय स्तरका विभिन्न जनजातिका खानाका परिकारदेखि आधुनिक खानाहरू प्रदर्शन एवं बिक्रीका लागि राखिएको थियो ।
खानाको प्रवद्र्धन, प्रदर्शन र खाद्य संस्कृतिबारे जानकारी गराउनु नै फुड फेस्टिभलको मुख्य उद्देश्य रहेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं चितवन महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । फुड फेस्टिभलमा ५ विशेष स्टलसहित ३४ वटा स्टल थिए ।
महोत्सव बुधबार एकैदिन ५५ हजारले अवलोकन गरेका छन् । मंगलबार माघेसंक्रान्तिको दिन ६० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए । हालसम्म करिब चार लाखभन्दा बढीले महोत्सव अवलोकन गरिसकेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १२औँ चितवन महोत्सव संयोजक सहनलाल प्रधानले बताए ।