म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित सातौं चरणको माघेसङ्क्रान्ति मेला मङ्गलबार सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मूल आयोजना र जिल्लास्थित स्थानीय तहहरुको सह–आयोजनामा लगाइएको विविध कार्यक्रमसहितको माघेसङ्क्रान्ति मेला सकिएको हो ।
मेलाको अवसरमा लोकगीत, लोकनृत्य, अन्धनिशान, छेलो र महिला÷पुरुष लठो तान्ने प्रतियोगिताहरु आयोजना गरिएको थियो । लोकनृत्यतर्फ कुल ३० जनाले सहभागिता जनाएकोमा सिन्धु पुन प्रथम, कुशल सुनार द्वितीय, सोनिया पुन तृतीय, दिपिका बानियाँ र एलिसा जिसी सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः १० हजार, सातहजार, तीनहजार र एकएक हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
यसैगरी ९ जना प्रतियोगीहरु सहभागी रहेको लोकगीत प्रतियोगितामा एकराज चापागाईं प्रथम, सन्जु पाईजा द्वितीय र खिमा पूर्जा तृतीय भएका छन् । विजयी प्रतियोगीहरुलाई नगद १० हजार, सातहजार र तीनहजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । त्यस्तै ६ जनाले सहभागिता जनाएको छेलो प्रतियोगितामा बेनी नगरपालिका–५, चिप्लेटीका सुमन कुँवर प्रथम भई नगद चारहजार रुपैयाँ र प्रमाणपत्र हात पारेका छन् ।
लठो तान्ने प्रतियोगितामा महिलातर्फ शिक्षामार्ग आमा समूह र पुरुषतर्फ म्याग्दीकाली यातायात व्यवसायी समिति विजेता भई ६÷६ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्धनिशानतर्फ घैटो फुटाउन सफल अभिनव शाक्य, गोकुल श्रेष्ठ र भरिमा विकले नगद एकएक हजार रुपैयाँ र प्रमाणपत्र पाएको महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताइन् । उनका अनुसार छेलो र अन्धनिशानको पुरस्कार अमृतदेवी बानियाँ, पवित्रा बोगटी केसी र जमुना केसीले सौजन्य गरेका थिए ।
कार्यक्रममा कलाकारहरु बसन्त थापा, लाली बुढाथोकी, कृष्ण गुरुङ, सम्भोज मल्ल, राम गगन, ध्रुब जिसी, सज्जन बोहोरा, रवि कार्की र पदम विश्वकर्माले आ–आफ्नो प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । अन्य कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । साङ्गीतिक तथा प्रतियोगिताको नतिजा घोषणा कार्यक्रमको अमित विश्वकर्मा, कृष्ण जिसी, भूपेन बानियाँ र रमेशकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।
Previous Articleराजधानी विवादले प्रदेश ३ को हिउँदे अधिवेशन अनिश्चित
Next Article मगर समुदायले मनाए माघेसङ्क्रान्ति पर्व