विवेकशील साझा पार्टीले एजेन्डा मिल्ने अन्य दलसँग पार्टी एकता गर्ने बाटो खुला रहेको बताएको छ ।
मंगलबार पार्टी कार्यालयमा केन्द्रीय समितिको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सूर्यराज आचार्यले एजेन्डा मिल्ने दलसँग पार्टी एकता र विभिन्न आन्दोलनमा सहकार्य हुने बताए ।
‘पार्टी एकता गर्न उदार र खुला छौं,’ आचार्यले भने, ‘पार्टी ठूलो बनाउनेतर्फ मात्रै हाम्रो ध्यान छैन, वैकल्पिक राजनीतितर्फ प्रतिवद्ध छौं ।’
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा आचार्यले एजेन्डा मिले एकताको बाटो खुला रहेको बताए । तर एकता हुने दलको ऐतिहासिक पृष्ठभूमिबारे विवेकशील साझा सतर्क रहेको उनको भनाइ छ । पछिल्लोसमय साना पार्टीबीच एकता गर्ने प्रचलन गर्ने परम्परा बढेकाले यी दुई साना पार्टीबीच एकताको संभावना देखिन्छ ।